20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सवारी दुर्घटना डेढ बर्षीया बालिकाले गुमाइन् आमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७८  

शुक्रबार साँझ दुर्घटनास्थलबाट उद्दार गरेर ल्याइएपछि कोहलपुर मेडिकल कलेजको बेडमा आमा गुमाएकी बालिका ।

कोहलपुर ।

पाँच जनाको ज्यान जाने गरी कोहलपुर नगरपालिका १३ बाँके राष्ट्रिय निकुन्ज सडक खण्डको रोहणी खोला भएको सवारी दुर्घटनामा डेढ वर्षीया बालिका सकुशल बाँच्न सफल भएकी छन् ।

आमाको भने दुर्घटनामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको । सिराहा सुखीपुर गाउँपालिका–३ घर भएकी ३२ बर्षीया अम्बिका कान्तिको दुर्घटनामा मृत्यु भएको हो । उनीसंगै डेढ वर्षीया छोरी पनि थिइन् ।

छोरी सुरक्षित रुपमा कोहलपुर मेडिकल कलेजमा रहेको कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए । कान्ति शिक्षाका लागि खाद्यान्न कार्यक्रम सुर्खेतमा कार्यरत थिईन । उनी घर जाँदै थिइन् ।

त्यस्तै दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत भएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ४, २०७८     11:20:36 AM  |