बाँकेको कोहलपुरमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
कोहलपुर नगरपालिका– १३ चप्परगौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखि करिव एक किलोमिटर पूर्व जंगलमा टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किएका थिए ।
दुर्घटनास्थलबाट उद्दार गरेर अस्पताल पठाइएका पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए । सुरक्षाकर्मीहरुले दुर्घटनास्थलबाट उद्दार गरेर ४२ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाएका थिए ।
तीमध्ये पाँच जनाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ३७ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।
‘दुर्घटनामा परेका ७ जना घाइतेहरुको अवस्थामा गम्भीर रहेको थियो’ डिएसपी खनालले अबेर राती मिसन टुडेसँग भने, ‘अन्य घाइतेहरुको अवस्था सामान्य रहेको छ । उपचार भइरहेको छ ।’
मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षका टिपरका सह–चालक उदय बाठा, कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी–७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका–१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला रहेका छन् ।
कोहलपुर प्रहरीका अनुसार गम्भीर घाइतेहरुमा सुर्खेत भेरी गंगा नगरपालिका २ का नारायण मगर र टेक बहादुर सिङ, सुर्खेतका खिम बहादुर रेग्मी र टिप्परमा सवार कोहलपुर– १२ का टोपेन्द्र शाही रहेका छन् ।
त्यसैगरी मोरङ विराटनगरका नविन भुजेल, सप्तरी कालिका नगरपालिका ७ की जुली झा, हनुमाननगर ७ का ललित नाथ झा र तारा कुमारी देवकोटा गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सुर्खेतबाट कोहलपुर हुँदै पूर्वको धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटना शुक्रबार बेलुकी ६ बजेतिर भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनापश्चात नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी उद्दारमा खटिएका थिए । सुरक्षाकर्मीहरुलाई टिप्पर र बसमा च्यापिएकाहरुलाई उद्दार गर्न समस्या भएको थियो ।
तीन वटा जेसिबीको सहायताले टिप्परलाई हटाएर च्यापिएका चार जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्