26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

थपिए बाँकेमा ३२ संक्रमित, देशभर ५५९ जनामा संक्रमण पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७  

नेपालगञ्ज ।

बाँके जिल्लामा पछिल्लो २४ घण्टामा सोमबार थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाका एक सरकारी, दुई निजी र जमुनाहा नाकामा गरिएको एन्टिजेन परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बाँके अनुसार १० महिला र २२ पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८ सय ९५ जना पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

सोमबार पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, बागेश्वरी ल्याबमा २ जना र जमुनाहा नाकाको हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबार साँझसम्म जिल्लामा १ सय ४० जना संक्रिय संक्रमितहरु रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको थियो ।

पछिल्लो २४ घण्टामा सोमबार ७ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या ४ हजार ६ सय ९८ जना पुगेको छ । अहिलेसम्म जिल्ला भित्रका ५७ जना र जिल्ला बाहिरका ९१ जना गरि १ सय ४८ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिए ।

जिल्लामा प्रति एक सयमा बिरामीको निको हुने दर ९५.९८ प्रतिशत रहेको छ । त्यसैगरी बिरामीको मृत्यु दर १.१६ प्रतिशत र रोगको प्रकोप दर ०.८१ प्रतिशत रहेको केन्द्रले जारी गरेको तथ्यांकमा उल्लेख छ । भेरी अस्पतालको कोभिड वार्ड उपचार गराइराखेका संक्रमितमध्ये २७ जनाको अवस्था सिकिस्त, २६ जना मध्यम र ३ जना भेन्टिलेटरमा रहेको अस्पतालले जनाएको छ ।

५५९ मा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा सोमबार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३७८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार १३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।

हाल देशभर ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको थियो । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । सोमबार थपिएका संक्रमितको संख्या केही महिनायताकै उच्च हो । संक्रमणको दर बढ्दै गएको दैनिक नयाँ थपिने र मृत्युको संख्या समेत बढ्दै गइरहेको छ ।

भेरीमा संक्रमितको मृत्यु

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइतबार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको चैत २२ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । चैत २५ गते अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा सोमबार दिउँसो १ः४० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७     9:15:34 AM  |