कोहलपुर ।
बाँकेको कोहलपुरमा चौथो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शनिबार ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बाँके क्षेत्र नम्बर १ का संघिय सांसद महेश्वर गहतराज ‘अथक’ले मेयर कपको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले शिक्षा र खेलकुदमा कोहलपुर नगरपालिका पहिलो भएको दाबी गरे ।
खेलकुद प्रतियोगिताले विद्यार्थीमा शारिरिक, मानसिक तथा नैतिकताको विकास हुने भएकोले विशेष महत्व राख्ने उनले बताए । ‘अहिलेको सन्र्दभमा खेल जगतले ठूलो परिवर्तन गरेको छ । स्थानिय स्तरकै खेल प्रतियोगिताबाटै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलमा आफुलाई चिनाउनमा यस्ता प्रतियोगिताको विशेष भूमिका राख्छन्’ सांसद अथकले भने ।
सोही अवसरमा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरलाई शैक्षिक हव बनाउने अभियानमा आफुहरु लागिरहेको बताए । ‘बाँकेको पहिलो पटक शिक्षक दरबन्दी मिलान कार्यविधि ल्याएर विद्यार्थीको अनुपातमा दरबन्दी मिलान गरेका थियौं’ उनले भने, ‘सो कामबाट गुणस्तरीय शिक्षा र सुसाशन कायम भएको अनुभव लिएको छु ।’
प्रतियोगितामा कोहलपुर नगरभित्रका २९ वटा विद्यालयहरुको सहभागिता रहेको छ । जसमा सामुदायिक १३ र संस्थागत १६ वटा माध्यामिक विद्यालय रहेका छन् । ११ सय ४८ जना विद्यार्थीले खेलकुदमा भाग लिएको र १५ विद्याका खेलहरु हुने प्रतियोगिताको व्यवस्थापन गरिएको कृष्ण माध्यामिक विद्यालय कौशिलानगरका प्रधानाध्यापक विरेन्द्र मल्लले जानकारी दिए । उनका अनुसार गत वर्षमा प्रतियोगितामा कोहलपुर नगरभित्रका ३३ वटा विद्यालयहरुको सहभागिता रहेका थिए तर यो वर्ष कम रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्