18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

वन्यजन्तुका लागि पोखरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २९, २०७७  

शिवु खनाल । दाङ ।

वन्यजन्तुको संरक्षण गर्नको लागि जिल्लाको एक सामुदायिक वनमा पोखरी निर्माण गरिने भएको छ । लमही नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ति बाख्रा विकास सामुदायिक वनमा जंगली वन्यजन्तुको संरक्षणको लागि पोखरी निर्माण गरिन लागेको हो ।

खासगरी सामुदायिक वन भित्र रहेका वन्यजन्तुलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यका साथ पोखरी निर्माण गरिन लागेको शिवशक्ति बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनक बुढा मगरले जानकारी दिए । त्यसको लागि अहिले पोखरी निर्माणको योजना अगाडि सारिएको उनले बताए । पोखरी निर्माण गरिएपछि सुख्खा मौसममा वन्यजन्तुलाई पानी पिउनको लागि ओहोरदोहोर गर्नुपर्ने अवस्था केही भएपनि न्यून हुने सामुदायिक वनका अध्यक्ष मगर बताउँछन् । ‘वन क्षेत्रका खोला नाला सुख्खा रहेका छन् ।

वनमा सुख्खा याममा कुनै पानीको स्रोत हुँदैन’ उनले भने, ‘पानी नहुँदा यहाँका वन्यजन्तु अर्को स्थानमा जाने गर्छन् । ती वन्यजन्तुलाई यही रोक्नको लागि वन क्षेत्रभित्रै पोखरी निर्माण गर्न लागेका हौं ।’ डिभिजन वन कार्यालय दाङ, देउखुरीको आर्थिक सहयोगमा शिवशक्ति बाख्रा विकास सामुदायिक वनमा पोखरी निर्माण गर्न लागिएको हो ।

वन क्षेत्रमा वन्यजन्तुका लागि पोखरी निर्माणको लागि डिभिजन वन कार्यालय दाङ देउखुरी अधिकारीहरु, सामुदायिक वनका पदाधिकारी, स्थानीयबासी लगायतले स्थलगत अनुगमन गरिसकेका छन् । उनीहरुले सामुदायिक वन क्षेत्रभित्र पोखरी निर्माण गरिने स्थानको स्थलगत अनुगमन गरेका हुन् । डिभिजन वन कार्यालय दाङ, देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले पोखरी निर्माण पश्चात गर्मीयाममा वन्यजन्तु पानीका लागि ओहोरदोहोर गर्नुपर्ने अवस्था हट्ने बताए ।

‘गर्मी मौसम सुरु भएसँगै वन क्षेत्रका खोला नाला सुख्खा हुन्छन् । वनमा कुनै पानीको स्रोत छैन’ उनले भने, ‘जसले गर्दा पानी नहुँदा वनमा रहेका वन्यजन्तुले एक ठाउँबाट अर्को ठाउँमा बासस्थान सार्छन् ।’ सो कुरालाई ध्यानमा राखेर पहिलो चरणमा सामुदायिक वनभित्र एउटा पोखरी निर्माण गरिन लागेको उनले जानकारी दिए । ‘सुख्खा याममा वन्यजन्तुलाई एकदमै समस्या हुने गरेपछि वनभित्र पोखरी निर्माण गरेर पानीको व्यवस्थापन गर्ने वन कार्यालयको योजना बनाएको हो’ प्रमुख सुबेदीले भने, ‘वनमा पोखरी निर्माण गर्नको लागी चार लाख बजेट बिनियोजन गरिएको छ ।’

सामुदायिक वन क्षेत्रभित्र केही दिनमा नै स्टिमेट गरेर पोखरी निर्माणको कामलाई तिब्रता दिइने डिभिजन वन कार्यालय दाङ, देउखुरीका सूचना अधिकारी प्रेमीला प्रसाद साहले जानकारी दिए । ‘वन क्षेत्रमा पानी व्यवस्थापन नभएको बेला वन्यजन्तुलाई समस्या हुन थालेपछि वन भित्र पोखरी निर्माण गरेर पानीको व्यवस्थापन गर्न लागिएको हो’ उनले भने, ‘पोखरी निर्माण भएपछि वन्यजन्तुलाई पानीको समस्या हुँदैन ।’

शिवशक्ति बाख्रा विकास सामुदायिक वनमा हुडार, चितुवा, राते, दुम्सी, भालु, चित्तल, बँदेल लगायतका वन्यजन्तुहरुको बसोबास रहेको वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनाल बताउँछन् । ‘यहाँको सामुदायिक वनमा विभिन्न किसिमका वन्यजन्तुहरु पाइन्छन्’ उनले भने, ‘गर्मीयाममा वन क्षेत्रभित्र पानीको समस्या हुँदा अन्य ठाउँमा जाने गरेका थिए ।’ वन क्षेत्रभित्रै पानीको पोखरी निर्माण भएपछि रैथाने वन्यजन्तुको संख्या समेत बढ्नसक्ने उनले बताए ।

प्रकाशित मितिः आइतवार, चैत्र २९, २०७७     9:32:28 AM  |