28 January 2022  |   शुक्रबार, माघ १४, २०७८

बढ्दै कोरोनाको जोखिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७  

कृष्ण ओली । नेपालगञ्ज ।

बाँके जिल्लामा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) जोखिम बढ्दै जान थालेको छ । छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर चलिरहदा बाँकेमा पनि पुनः दोस्रो लहरको जोखिम बढ्न थालेको हो ।

बुधबार मात्रै बाँकेमा १३ जना नयाँ संक्रमित थपिएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा बाँकेका १३ जनामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा भेरीको प्रयोगशालामा ४५ जनाको स्वाब परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । ‘भेरीमा संक्रमण पुष्टि भएका १८ जनामध्ये १३ जना बाँकेमा हुनुहुन्छ’ उनले भने, ‘अन्य पाँच जना भने बाहिरी जिल्लाका रहनुभएको छ ।’

कोरोना संक्रमण शून्यजस्तै बनेको बाँकेमा फेरि संक्रमण बढेसँगै जोखिम समेत बढेको बताइन्छ ।

जिल्लामा थपिएका १३ जना संक्रमितमध्ये एक जना २ वर्षीय बालक समेत रहेको केन्द्रका फोकल पर्सन वलीले मिसन टुडेलाई जानकारी दिए । बालक नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ का रहेका छन् ।

‘जिल्लामा कोरोना नियन्त्रणको अवस्थामा रहेको बेला फेरी संक्रमण दर बढेको छ’ उनले भने, ‘फेरी कोरोनाको जोखिम बढेको छ ।’ बुधबार भेरीको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पुष्टि भएका अन्य बर्दिया, जाजरकोट, ललितपुर, जाजरकोट र कैलालीका एक-एक जना रहेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यसैबीच जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक रामबहादुर कुरुम्बाङले कोरोना संक्रमणको जोखिम बढेकाले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना सबैले गर्नुपर्ने बताए ।

‘केही दिनयताको नयाँ संक्रमित थपिने दर हेर्दा जोखिम बढेको देखिन्छ’ उनले भने, ‘हामी पनी संक्रमण फैलिन नदिन रणनिती बनाउँछौं । मुख्य कुरा त अब सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’

नाकामा थप एकमा कोरोना

बाँकेको जमुनाहा नाका भएर भारतबाट घर फर्किदै गरेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जमुनाहा नाकामा राखिएको हेल्थ डेस्कमा बुधबार एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोनाको भाइरस देखिएको हो ।

एन्टिजेन परीक्षण गर्दा कोरोनाको भाइरस देखिएका व्यक्ति दैलेखको दुल्लु नगरपालिका ४ का ४० वर्षीय पुरुष रहेका छन् । यसअघि दैलेख, रोल्पा र बर्दियाका एक-एक जना पुरुषलाई पनि एन्टिजेन परीक्षण गर्दा कोरोनाको भाइरस देखिएको थियो ।

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाली धमाधम घर फर्किरहेका छन् । नेपालीहरु घर फर्किन थालेसँगै नाकामा नै हेल्थ डेस्क राखेर घर फर्किदै गरेका शंकास्पद व्यक्तिलाई एन्टिजेन परीक्षण गरिने गरिएको छ ।

सर्तकता अपनाउन आग्रह

कोरोनाको जोखिम बढ्दै गएकाले पहिलाका जस्तै गरेर सर्तकता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

नेपालमा मात्रै नभएर विश्वका अन्य देशहरुमा समेत कोरोनाको नयाँ भेरिएण्ट देखिएकाले सर्तकता अपनाउन भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सुझाव दिए ।

‘कोरोनाको नयाँ भेरिएण्ट नेपालसहित अन्य देशमा देखिन थालिसकेको छ’ उनले भने, ‘हामीले पहिलेको जस्तै गरेर स्वास्थ्य मापदण्ड पालना गर्दै सर्तकता अपनाउनुपर्छ ।’

भारत लगायत तेस्रो मुलुकबाट नेपाल भित्र्निेहरुलाई समेत नाकामा नै चेकजाँच गर्नुपर्ने बताउँदै उनले कोरोना पुष्टि भएमा आइसोलसनमा राख्नुपर्ने बताए । घरबाहिर निस्किदा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, भिडभाड नगर्ने, आवश्यक काम बाहेक यात्रा नगर्न डा. पाण्डेले सबैलाई सुझाव दिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र १९, २०७७     2:02:53 PM  |