25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपालगञ्जमा सेवाग्राहीले कुटे वडाध्यक्ष

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका एक वडाध्यक्षलाई सेवाग्राहीले कार्यकक्षमै कुटपिट गरेका छन् । बिहीबार दिउँसो उप–महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष कैफुलवरा जोलाह सेवाग्राहीबाट कुटिएका हुन् ।

उनीमाथि सोही वडाकै सेवाग्राही मोहम्मद अहमद हल्वाईले कुटपिट गरेको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।

नागरिकताको प्रतिलिपिका लागि सिफारिस दिन दुई दिनदेखि आलटाल गरेको भन्दै हल्वाईले कार्यकक्षमै रहेका वडाध्यक्ष जोलाहलाई हेल्मेटले आक्रमण गरेका थिए ।

वडाध्यक्षमाथि आक्रमण गर्ने हल्वाईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए ।

‘वडाध्यक्षमाथि कुटपिट भएको भन्ने खबर आएपछि प्रहरी पुगेर एक जनालाई नियन्त्रणमा लिएको छ’ उनले भने, ‘नियन्त्रणमा रहनुभएका सेवाग्राहीको समेत आफ्नै कुरा रहेको छ ।’

सुरुमा कसले हात हालेको हो भन्नेबारे सीसिटिभीको फुटेज मगाएर हेर्ने काम भइरहेको डिएसपी खड्काले बताए ।

‘दुवै पक्षका आ–आफ्नै दाबी रहेका छन्’ उनले भने, ‘सोही कुरालाई ध्यानमा राखेर कसको गल्ती रहेछ भनेर कार्यकक्षको सीसिटिभी फुटेज मगाएर अनुसन्धान गरिरहेका छौं । कसले सुरुमा हात हाल्यो भन्ने कुरा खुलिहाल्छ ।’

सेवाग्राही र वडाध्यक्षबीच जोलाहबीच भएको विवाद हाल हालाहालको स्थितीसम्म पुगेको अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले मिसन टुडेलाई जानकारी दिए ।

सेवाग्राहीको कुटपिटबाट घाइते भएका वडाध्यक्ष जोलाहलाई उपचारका लागि बिहीबार दिउँसो नै नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो । उनको टाउको र पिठ्युँमा सामान्य चोट लागेको बताइएको छ ।

यता वडाध्यक्ष जोलाहले आफूलाई मार्ने नियत राखेर हेल्मेट प्रहार गरी आक्रमण गरिएको दाबी गरे । ‘कुरा नबुझ्दै एकाएक आएर हेल्मेट प्रहार गरि घाईते बनाए, कर्मचारीले बचाए’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनालाई गम्भीरतापूर्वक लिएर सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७     3:40:56 PM  |