4 December 2021  |   शनिबार, मंसिर १८, २०७८

सीमापार जान रोक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७  

भारतमा कोरोना संक्रमणको दर बढिरहेको भन्दै डिसिसिएमसी बाँकेको बैठकले आजदेखि सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको हो । तर स्वास्थ्य उपचार र अत्यावश्यक कामको लागि भने जान पाइनेछ ।

नेपालगञ्ज ।

नेपालीहरुलाई भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जान रोक लगाइएको छ । बुधबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले बैठकले उक्त निर्णय गरेको हो ।

छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेसँगै आवश्यक रणनीति बनाउन डिसिसिएमसीको बैठक बसेको थियो । बैठकले सीमा नाकामा हुने आवतजावतमा थप कडाई गर्ने लगायतका अन्य निर्णयहरु गरेको डिसिसिएमसीका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । ‘किनमेलका लागि भारतीय बजार जान रोक लगाउने निर्णयका साथै आवतजावत थप कडाई गर्ने निर्णय गरेको हो’ उनले भने, ‘स्वास्थ्य उपचार र अत्यावश्यक कामका लागि भने जान दिइनेछ ।’

भारतबाट घर फर्किने नेपालीहरु समेत सीमामा स्वास्थ्य परीक्षण पश्चात मात्र आउन पाउनेछन् । सीमा नाकाबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाएर यात्रुहरुको दैनिक अभिलेख राख्ने निर्णय समेत गरिएको
छ ।

नाकामा रहेको हेल्थ डेस्कमा नेपाल प्रवेश गर्ने सबै यात्रुहरुको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रजिअ कुरुम्बाङले जानकारी दिए । ‘लक्षण देखिएका यात्रुहरुको एन्टिजिन परीक्षण गरिनेछ’ उनले भने, ‘सामान्य अवस्थालाई १० दिन होम क्वारेन्टिनमा बस्नेगरी पठाइनेछ भने गम्भीर प्रकृतिका बिरामीलाई भेरी अस्पताल रिफर गरिनेछ ।’ बैठकले सीमा नाकाबाट प्रवेश गर्ने यात्रुहरुको एन्टिजिन परीक्षणका लागि थप आवश्यक पर्ने एन्टिजिन उपलब्ध गराईदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

नजिकिदैं गरेको होली लगायतका चाडपर्वहरु मनाउदा र अत्यावश्यक गोष्ठी, भेला, कार्यक्रम सञ्चालन गर्दा भिडभाड नगरी अनिवार्य रुपमा कोभिड विरुद्ध जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए । उनका अनुसार अत्यावश्यक बाहेकका सभा, सम्मेलन र भेला आयोजना नगर्ने निर्णय भएको छ । बैठकले कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै स्थानीय तहलाई पहिले भएका क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

गम्भीर प्रकृतिका विरामीहरुको उपचारका लागि भेरी अस्पतालमा रहेको आइसोलेसन वार्डलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रहेको आइसोलेसन वार्ड आवश्यक परेको बखत तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी तयारी अवस्थामा राख्ने निर्णय भएको थियो ।

बैठकले विभिन्न ७ बुँदे निर्णय समेत गरेको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । डिसिसिएमसीले बैठकले केन्द्रीय परिपत्र अनुसार नाकामा कडाई गर्ने, आम नागरिकलाई भिडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र सुरक्षित रहन आग्रह गरेको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७     10:10:50 AM  |