25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

धुर्मुस–सुन्तली फाउन्डेसनको रंगशाला निर्माण सहयोग अभियान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७  

कोहलपुर

धुर्मुस सुन्तली फाउन्डेसनको मेची–महाकाली अभियान थालनी गरेको छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेको फाउन्डेसनले आर्थिक सहयोग अभियान थालेको हो । रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउनको लागि मेची–महाकाली अभियानको थालनी गरिएको अध्यक्ष तथा कलाकार सिताराम कट्टेलले बताए ।

अभियानको शुभारम्भको लागि सुदूरपश्चिम जाने क्रममा कोहलपुरमा आइपुगेका कट्टेलले मंगलबारबाट रंगशाला निर्माणको लागि सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेसनको मेची–महाकाली सुरु गरेको जानकारी दिए ।उक्त राष्ट्रिय अभियानको कन्चनपुर जिल्लाबाट सुरु गरिएको हो । यो अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ । अभियान मेचीको इलाममा गएर टुंगिने जानकारी दिए ।

देशको नयाँ सम्पदाका रुपमा रंगशाला निर्माण गरिने उनको भनाइ छ । ‘जनस्तरबाट रंगशाला निर्माण भइरहेको छ ।यो समग्र नेपाली जनताको रंगशाला हुनेछ । हामीले निर्माणको पहल मात्रै गरेका हौ । अहिले आर्थिक संकलनको लागि अभियान थालिएको हो ।’ उनले भने ।
यस्तै उनले अभियान अन्तर्गत बाँके जिल्लामा ६ र ७ गते जिल्लाभर आर्थिक सहयोग अभियान सञ्चालन गरिने बताएका छन् । अभियानको क्रममा सम्पूर्णको घरदैलो मै पुगेर सहयोगको अपिल गरिनेछ ।

सहयोगको लागि कुनै करकाप नगरिने र स्वतस्र्फूत रुपमा सहयोग गर्न सकिने उनको भनाइ छ । उनल अघि भने, ‘यो घरदैलो अभियान हो । हामी सबैका घरमा पुग्नेछौ । अभियान सफल बनाउन सबैको दायित्व छ ।हामी सहयोग माग्न मात्रै होइन सम्बन्ध र नाता जोड्न पनि आएका छौ ।बाँकेबासीको साथ र सहयोगको अपेक्षा हामीले गरेका छौ ।’

अभियानको क्रममा महाकाली नदि,पूर्वको मेची नदि र लुम्बिनीको माटो रंगशालामा निर्माण हुने पीचको लागि प्रयोग गरिने उनको भनाइ थियो । बैशाख महिनासम्म पहिलो चरणमा तीन हजार दर्शक अटाउने प्याराफिट तयार गरिने पनि उनले बताए । सबैको साथ र सहयोग पाएको खण्डमा अबको एक वर्षमा निर्माण कार्य सम्पन्न हुने पनि अवगत गराए ।

रंगशालाको कुल लागत डिपीआर अनुसार ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अहिले सम्म रंगशाला निर्माणको लागि ४४ करोड जति खर्च भइसकेको छ । जनस्तरबाट ३३ करोड रुपैयाँ संकलन भएको छ । करिब ११ करोड खाटामा परियोजना अघि बढिरहेको पनि उनले बताए । अहिले सम्म २० प्रतिशत काम सम्पन्न भइसकेको छ । डीपीआर भन्दा निकै कम रकममा परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ
छ ।

सोमबार राती आयोजित अनौपचारिक कार्यक्रममा कोहलपुरका विभिन्न सहयोगी व्यक्तिहरुले ५२ हजार रुपैयाँ सहयोग गरेका थिए । ती मध्ये सबैभन्दा बढी शंकर रायले २० हजार आशा विकले १० हजार र अन्य व्यक्तिहरुले पनि सहयोग गरेको फाउन्सेडनले जानकारी दिएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७     4:53:14 PM  |