दाईजोको निहुँमा बुहारी जलाउने पक्राउ



नेपालगञ्ज ।

बाँकेको नरैनापुरबाट आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई फरार रहेका ससुरा पक्राउ परेका छन् ।

नरैनापुर गाउँपालिका–२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सात वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहारी २३ रिहाना शेष ढपालीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार उनीलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका १ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा गएको टोलीले अभियुक्त हनिफलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए ।

मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा रिहानाका श्रीमान् फरिद शेष ढपाली र सासु सजहाद खाँ अझैसम्म पनि फरार रहेको छन् । उनीहरुको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तो थियो घटना

रिहानाका श्रीमानले रिहानाका घरपरिवारसँग दाईजो वापत मोटरसाईकल र नगद माग गरेका थिए । उनिहरुको माग गरे अनुसार दाईजो नपाएपछि रिहाना सुतिरहेको स्थानमा मट्टितेल छर्कि आगो लगाईएको थियो ।

घटना घटीसकेपछि रिहानालाई उपचारका लागि भारत लगिएको र घटनालाई लुकाउने प्रयास गरीएको बाँके प्रहरीले जनाएको छ ।

भारतमा केही समय उपचार गरेपछि घरमा ल्याई माईती पक्षलाई जानकारी गराएपछि रिहानाका माईती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । घटना बाहिर आएपछि रिहानालाई तत्काल भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरीएको थियो ।

नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाण्डौ लगिएको थियो । पति फरिद शेषले रिहानालाई मट्टीतेल छर्केर जिउँदै आगो लगाइदिएका थिए ।

विवाहमा मोटरसाइकल र भैँसी दाइजो नल्याएको निहुँमा उनीमाथि त्यस्तो दुर्व्यवहार गरिएको हो । सासु, ससुरा समेतको उक्साहटमा रिहानालाई उनका पतिले आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।

शरीरको तल्लो भाग पूरै जलेर सख्त घाइते रिहानाको पेटमा रहेको बच्चासमेत खेर गएको थियो । बिभिन्न संघसंस्थाको सहयोगमा ६ महिना काठमाडौँमा उपचार पश्चात निको भएर रिहाना घर फर्किएकी थिइन् । उनी अहिले माईती घरमा बस्दै आएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत ११ गते बुधबार