पश्चिम नेपालको प्रमुख नाका जमुनाहामा आजदेखि भारतबाट आउने व्यक्तिहरुको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिने भएको
छ । पछिल्लो समय भारतमा कोरोनाको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि जमुनाहा नाकामा एन्टिजेन परीक्षण गर्न लागिएको हो ।
नाका भारतदेखि आउने व्यक्तिको एन्टिजेन जाँच गर्न लागिएको नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले
बताए ।
‘सोमवारबाटै जमुनाहा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ’ उनले भने, ‘भारतमा कोरोनाको दोस्रो चरणको संक्रमण बढ्दै गएकाले नाकामा सर्तकता बढाइएको हो ।’
आज बुधवारबाट जमुनाहा नाकामा एन्टिजेन विधिबाट गरिने कोरोना परीक्षणको तयारी पूरा भइसकेको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए ।
एन्टिजेन परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरस छ कि छैन पत्ता लाग्नेछ । ‘भारतबाट आउनेलाई व्यक्तिहरुलाई नाकामा थर्मल गनले ज्वरो नाप्छौँ’ उनले भने, ‘ज्वरो देखिएका व्यक्तिको मात्र एन्टिजेन परीक्षण गरिने छ ।’
एन्टिजेन परीक्षणबाट कोरोना भाइरस रहेको पाइपछि निगरानी र पीसीआर परीक्षण समेत गर्ने तयारी गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि स्वास्थ्य कार्यालय बाँकेलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३ हजार एन्टिजेन किट पठाएको थियो ।
त्यसमध्ये नेपालगञ्ज उप–महानगरपालिकालाई १ हजार एन्टिजेन किट दिइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिए । अन्य एन्टिजेन किट अन्य सात पालिकाहरुलाई बाँडिएको थियो ।
‘अवस्था हेरेर मात्र हामीले एन्टिजेन किट प्रयोग गर्न पालिकाका स्वास्थ्य शाखालाई निर्देशन दिएका छौं’ उनले भने, ‘शंकास्पद व्यक्तिहरुलाई मात्र परीक्षण गरिने भएकाले एन्टिजेन किटको तत्काल अभाव हुँदैन ।’
रोजगारीका शिलशिलामा भारत विभिन्न शहर पुगेको नेपालीहरु कोरोना संक्रमणको डर र लकडाउनका कारण घर फर्किने क्रम बढेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले दैनिक १ हजार नेपालीहरु घर फर्किरहेका छन् । तीमध्ये शंकास्पद व्यक्तिहरुलाई मात्रै एन्टिजेनमार्फत कोरोना पुष्टि गरिनेछ ।
जमुनाह नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा महाशाखाले मेकिडल अधिकृतसहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । तीमध्ये ल्याब टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्