बाँकेको कोहलपुरमा रहेको होटल म्याक्सले होटललाई सकेसम्म क्यासलेस बनाउने योजना अगाडि सारेको छ । त्यसको लागि शनिवार होटलले मेगा र सिटिजन बैंकसँग सहकार्यको लागि सम्झौता गरेको थियो ।
होटललाई क्यासलेस बनाउने उद्देश्यका साथ पहिलो चरणमा दुई वटा बैंकसँग सहकार्यको लागि सम्झौता गरिएको होटल म्याक्सका प्रबन्धक सञ्जय श्रेष्ठले जानकारी दिए ।
होटलका प्रबन्धक श्रेष्ठ र दुवै बैंकका प्रतिनिधिबीच सहकार्यका लागि दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार सेवाग्राहीहरुले दुवै बैंकका डेबिट कार्ड र क्रेडिट कार्डबाट रकम भुक्तानी गरे १० प्रतिशत छुट पाउँनेछन् ।
‘सम्झौता अनुसार दुवै बैंकका डेबिट वा क्रेडिट कार्डबाट रकम भुक्तानी गरे १० प्रतिशत छुट पाउनुहुनेछ’ उनले भने, ‘यसको लागि डेबिट वा क्रेडिट कार्डबाट नै भुक्तानी गर्नुपर्नेछ । अन्यथा पाइनेछैन ।’ आगामी दिनमा होटलको सेवा सुविधालाई थप परिस्कृत र व्यवस्थित बनाउनको लागि थप नयाँ योजनाहरु ल्याउने तयारी भइरहेको होटल म्याक्स व्यवस्थापनले जनाएको छ ।
त्यसअनुसार नै पहिलो चरणमा दुवै बैंकका सेवाग्राहीलाई होटलको सेवा सुविधा उपभोग गरेवापत १० प्रतिशत छुटको ब्यवस्था मिलाईएको होटलका प्रबन्धक श्रेष्ठले दाबी गरे ।
‘होटललाई क्रमश क्यासलेस बनाउने हाम्रो अभियान हो’ उनले भने, ‘सोही अनुसार नै पहिलो चरणमा दुई वटा बैंकसँग सम्झौता गरिएको हो । अब अन्य बैंकसँग समेत सहकार्य अगाडि बढाउँछौं ।’
सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै होटलका प्रबन्धक श्रेष्ठले सञ्चालनको छोटो समयमा नै होटलले यस क्षेत्रका सेवाग्राहीको मन जित्न सफल भएको बताएका थिए । केही दिन अघिमात्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटललाई ‘क’ वर्गमा वर्गीकरण गरेको उनले बताए । ‘हामीले कोहलपुर क्षेत्रमा उत्कृष्ट सेवा सुविधा दिएका छौं’ उनले भने, ‘अनुगमनका क्रममा कोहलपुरमा रहेका होटलमध्ये म्याक्स उत्कृष्ट भएको छ ।’
खाद्य स्वच्छताका आधारमा केही समय अघि मात्रै सञ्चालनमा आएको होटल म्याक्स सबैभन्दा उत्कृष्ट ठहरिएको थियो ।
होटल तथा रेष्टुरेन्टहरुको निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्नको आधारमा अनुगमन गरेर गर्दा चेकजाँच गर्दा होटल म्याक्सले ९२ नम्बर प्राप्त गर्दै अति उत्तम (क) स्तरको स्टिकर प्राप्त गर्न सफल भएको थियो । खाद्य स्वच्छताका आधारमा गरिएको अनुगमनको क्रममा कोहलपुरका दुई होटलले अति उत्तम (क) स्तरको स्टिकर पाएका थिए ।
होटलका सेवा सुविधाहरुलाई अझै उत्कृष्ट बनाउनको लागि तयारी समेत थालिएको पत्रकार सम्मेलनमा होटल व्यवस्थापनले जानकारी दिएको थियो ।