7 September 2024  |   शनिबार, भदौ २२, २०८१

कुकुरमा ‘पोर्वेन इन ट्राइटिस’को समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७  

कोहलपुर 

कोहलपुर नगरपालिका क्षेत्रमा पालिएका घरपालुवा कुकुरहरु धमाधम बिरामी पर्न थालेका छन् । गर्मीयाम सुरु भएसँगै कोहलपुर क्षेत्रमा पालिएका घरपालुवा कुकुर बिरामी पर्ने समस्या देखिन थालेको हो । ती कुकुरहरुमा खाना नरुचाउने, शरिरमा पानीको मात्रा काम हुने र असक्त हुने समस्या देखिन थालेको छ ।

पशु चिकित्सकहरु समय मै उपचार नभएमा कुुकुरहरुको मृत्यु समेत हुन सक्ने बताउँछन् । ती कुकुरहरुमा ‘पोर्वेन इन ट्राइटिस’ रोगको लक्षण देखिएको पशु चिकित्सकको भनाइ छ । यस्ता लक्षण देखिएका घरपालुवा कुकुरको छिटो उपचार गर्नुपर्ने उनको आग्रह छ । अहिले कोहलपुर नगरपालिका अन्तर्गत पशु सेवा शाखामा समेत यस्ता खालका समस्या भएका कुुकुर ल्याइने गरेको शाखाले जनाएको छ ।

विगत दुई सातादेखि विभिन्न किसिमका समस्या भएका सेवाग्राहीहरु आउने गरेको पशु शाखाका अधिकृत तिलक प्रसाद आचार्यले बताए । उनका अनुसार बाटोमा जथाभावि हिड्ने कुकुरहरुमा त्यस्तो समस्या छैन । घर मै पालेर राखिएका कुुकुररुमा उक्त रोगका लक्षण देखिन थालेका हुन् ।

उनले घरमा मासु र दुध खुवाउने कुकुरहरुमा बढी समस्या देखिएको पनि जानकारी दिए । ‘पोर्वेन इन ट्राइटिस’ कुकुरमा देखिने मौषमी रोग हो । अधिकृत आचार्यले त्यस्ता समस्या भएका कुकुरलाई समय मै उपचार गर्नु पर्ने बताए । पशु शाखामा उपचारको लागि आउने कुुकुरहरु सामान्यातया तीन दिनमा ठिक हुने गरेको बताए ।

कोहीलाई भने पाँच दिन सम्म पनि लगातार उपचार गराउनुपर्छ । कोही कुकुरको मृत्यु समेत हुने गरेको उनको भनाइ छ । अहिले दैनिक ५ देखि १० जना सम्म कुकुर ल्याएर शाखामा आउने गरेको उनले बताए । ‘पोर्वेन इन ट्राइटिस’ को समस्या भएका अहिले सम्म ३० वटा जानकारीमा आएको उनले जानकारी दिए । ती मध्ये २९ वटाको पशु शाखामा आएर उपचार भएको छ । २७ वटाको सकुशल उपचार भएको र दुई वटाको मृत्यु भएको आचार्यले बताए ।

पछिल्ला केही दिनयता झन आउने बढी सेवाग्राही आउने गरेको उनले बताए । अहिले पशु शाखाले उक्त रोगको लागि प्रयोग गरिरहेको औषधिले ६० प्रतिशत सफल भएको पनि जनाएको छ । पशु शाखामा बेलौती कुकुरहरु बढी ल्याइने गरेको उनले बताए । त्यो हिसाबले कोहलपुर क्षेत्रमा सानो तथा आकर्षण बेलौती कुुकुर पालिएको हुन सक्ने अनुमान छ ।

गर्मीयाममा ती कुकुरहरुलाई झोलिलो चिज खुवाउने, पानी प्रशक्त खुवाउने र शितल ठाउँमा राख्न अचार्यको सुझाव रहेको छ । यस्तै त्यस्ता समस्या देखिएमा छिटो उपचार गराउनु पर्छ ।नत्र महामारीको रुप लिन सक्ने उनले बताएका छन् ।

प्रकाशित मितिः शनिबार, चैत्र ७, २०७७     10:29:24 AM  |