7 September 2024  |   शनिबार, भदौ २२, २०८१

बालिकामाथि बलात्कार–हत्या प्रयासः यसरी पक्राउ परे भारतबाट जुनेद (भिडियोसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ५, २०७७  

कृष्ण ओली । कोहलपुर ।

बाँकेको नेपालगञ्जमा बालिकालाई बलात्कार र हत्या प्रयास गर्ने युवक डेढ महिनापछि पक्राउ परेका छन् ।

फरार रहेका युवकलाई नेपालको इन्टरपोल शाखा र इन्डियन टास्क फोर्स (एसटीएफ) को सहयोगमा भारतको श्रावस्तीबाट मंगलबार राती पक्राउ गरिएको हो । बालिकालाई बलात्कार र हत्या प्रयास गर्ने नेपालगञ्ज उप–महानगरपालिका– ४ का २० वर्षीय जुनेद हलवाईलाई भारतीय एसटीएफको सहयोगमा पक्राउ गरेर नेपाल ल्याइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

माघ १६ गते भएको घटनापछि फरार रहेका हलवाई भारतको श्रावस्तीमा रहेको मामा मोहम्मद हसिमको घरमा लुकेर बस्दै आएका थिए । पक्राउ परेका युवकलाई बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले इन्डियन टास्क फोर्स (एसटीएफ) को सहयोगमा युवकलाई पक्राउ गरेर ल्याइएको बताए ।

‘बयानको क्रममा पक्राउ परेका युवकले सहमतीमै होटलमा खाजा खान गएको बयान दिएका छन्’ उनले भने, ‘त्यहाँ पुगेपछि बालिकालाई बिहेको प्रस्ताव राख्दा नमानेपछि बलात्कार र कुटपिट गरि हत्या प्रयास गरेको देखिन्छ ।’

नेपालगञ्जस्थित बसपार्कको एक होटलको कोठा नम्बर २ मा उनले १६ वर्षीय बालिकालाई बलात्कार र हत्या प्रयास गरेका थिए । बालिकालाई बलात्कार प्रयास गरि ज्यान मार्ने मनसायले पक्राउ परेका हलवाईले घाँटीमा सल (चुन्नी) कसी बेहोस बनाई छोडेर फरार भएको बाँके प्रहरीले जनाएको छ ।

आरोपीत युवकलाई पक्राउ गर्नको लागि काठमाडौंस्थित इन्टरपोल शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव र ग्राउण्डमा बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काको टोली खटिएको थियो । उक्त टोलीले युवकलाई भेट्न जाने परिवारका सदस्यमार्फत एक महिनादेखि निगरानी गर्दै आएको थियो ।

पक्राउ परेका हलवाईका बाबु हसिम उपचारका लागि लखनउ गएदेखि भारतको एसटीएफले उनलाई पच्छाई रहेको थियो । उनी उपचारपछि श्रावस्ती गएपछि आरोपीत बस्दै आएको ठेगाना पत्ता लागेको हो ।

भारतीय सत्ता निकट एक नेताको संरक्षणमा उनी बसेका थिए । सोही घटनाबारे विगतदेखि हालसम्म विभिन्न संघसंस्थाहरुले सम्बन्धित प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए । बाँकेका प्रहरी प्रमुख एसपी रानालाई भेट्न डेलिगेशन गएको थियो भने नेपालगञ्जको त्रिभुवन चौकमा हप्तौदिनसम्म कारवाही मागका लागि प्रदर्शन समेत गरिएको थियो ।

त्यस्तै अपराधी पक्राउ गर्न सामाजिक संघ संस्थाहरुले जिल्ला प्रशासन प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसलगत्तै विभिन्न विद्यालयहरुबाट अपराधी पक्राउ गर्न सडक नाटक, महिला हिंसा बन्द गरौं, जस्तो कार्यहरु गर्दै आएका थिए । आरोपीत पक्राउ परेसँगै घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

के थियो घटना ?

माघ १६ गते शुक्रवार उनी विद्यालय जाने तरखरमा थिइन् । आमाले घरमै काम भएकाले विद्यालय नजान भनिन् । तर, फाराम भर्नुपर्ने भएकाले चाँडै फर्किन्छु भन्दै उनी विद्यालय लागिन् ।

नेपालगञ्जको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी ती बालिका मध्याह्न साढे १२ बजे घर फर्किँदै थिइन् । हुस्सु लागेको मौका छोपेर अचानक स्थानीय युवकले बाटो छेके । ती युवक केही दिनदेखि उनको पछि लागेका थिए । पछि लाग्नुको कारण थियो, युवकको प्रेम प्रस्ताव । तर, बालिकाले युवकको प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिइन् ।

त्यस दिन भने ती युवकले चक्कु देखाएर मार्ने धम्की दिए र नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरे । बलात्कार गर्न नसकेपछि किशोरीलाई निर्घात कुटपिट गरे । सलले घाँटी कसेर नाक, कान र मुखबाट रगत आएपछि अचेत अवस्थामा मरेको ठानी युवक भागेको बाँके एसपी रानाले जानकारी दिए ।

उनका अनुसार बालिकाको मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको थियो । घटनाको चार दिनसम्म पनि मुखमा जुत्ताको डाम नै थियो । ‘केही बोलिस् भने तँलाई मारिदिन्छु । चुप लागेर मसँग हिँड् भन्दै होटलसम्म लग्यो । बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण ग¥यो,’ पीडित बालिकाले बाँके प्रहरीसमक्ष बयान दिएकी छन् ।

घटना जानकारी भएलगत्तै पीडितकी आमाले माघ २३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दर्ता गर्न गएको जानकारी गराउँदै माघ २५ गतेका दिन किटानी जाहेरी दर्ता गराएकी थिईन ।

आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि युवक भारततर्फ भागेका थिए । कमजोर आर्थिक अवस्था भएकी पीडित बालिकालाई भेरी अस्पतालमा उपचार गरेर नेपालगञ्जस्थित एउटा गैरसरकारी संस्थाको सेल्टरमा राखिएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र ५, २०७७     10:37:05 AM  |