18 September 2024  |   बुधबार, अशोज २, २०८१

‘विकासमा साझेदारी आवश्यक’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ४, २०७७  

शुभाकर विश्वकर्मा, कोहलपुर

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतबाट सम्मान थाप्दै कोहलपुर उवासंघका अध्यक्ष लक्ष्मणराज पौडेल, साथमा उप प्रमुख सन्जुकमारी चौधरी

कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको प्रवेशद्धारका रुपमा रहेको कोहलपुरको विकासका लागि स्थानीय सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट,बाँकेको दोस्रो ठूलो सहर कोहलपुरको समग्र विकासको लागि सहकार्य र हातेमालो आवश्यक रहेकोमा उनीहरुले जोड दिएका हुन् । कोहलपुरलाई आर्थिक सहरका रुपमा विकास गर्नको लागि सबै क्षेत्रको साझेदारी अत्यावश्यक रहेका वक्ताहरुले बताएका थिए ।

मंगलबार कोहलपुर नगरपालिकाले आयोजना गरेको ‘कोहलपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा सम्मान कार्यक्रम’मा बोल्ने अधिकांश वक्ताहरुले विकासको लागि सबै क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जुकुमारी चौधरीले स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य र हातेमालो गर्न तयार रहेको बताइन् । उनका अनुसार कोहलपुरको आर्थिक विकासमा कोहलपुर उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको छ । कोहलपुरलाई व्यवसायमैत्री बनाउन समेत आवश्यक रहेकोमा उनको जोड छ ।

यस्तै उनले कोहलपुर नगरपालिकामा व्यवसायीहरुका समस्याहरु रहेको भन्दै निजी क्षेत्रबाट हुने काम चुनावी प्रतिबद्धता अनुसार नै गर्न सुझाव दिइन् । कोहलपुरमा फोहोरमैला व्यवस्थापन प्रमुख समस्याको रुपमा रहेको भन्दै उद्योग वाणिज्य संघ र नगरपालिका मिलेर दीर्घकालीन रुपमा व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो । उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए । कोहलपुरलाई औद्योगिक सहरका रुपमा विकास गर्नको लागि हातेमालो गरी अघि बढ्नुपर्ने उनले बताए ।

‘आज म निकै खुसी छु । स्थानीय सरकारले हामीलाई सम्मान गरेको छ । यो हामी सबै सहकार्य गरेर जाने एउटा अवसर पनि हो ।’ केन्द्रीय सदस्य अधिकारीले भने । कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका उनले कोहलपुरको विकासका लागि आफूले केन्द्रमा सक्रिय रुपमा पहल गर्ने बताएका थिए । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र शर्माले हाम्रो कोहलपुर, राम्रो कोहलपुर भन्ने लक्ष्यका साथ अघि बढेमा कोहलपुर केही वर्षमा समृद्ध बन्ने बताएका थिए । त्यसका लागि सहकारी, सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो । यस्तै उद्योग स्थापनाका लागि लगानीकर्ता भित्¥याउन पहलकदमी चालिनुपर्नेमा शर्माले जोड दिए ।

उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लक्ष्मण राज पौडेलले आफूले विगतमा पनि विभिन्न क्षेत्रमा रहेर कोहलपुरको विकासमा भूमिका खेलेको भन्दै अबको तीन वर्ष थप कार्यका लागि क्रियाशिल हुने बताए । उनले पनि विकासको लागि साझेदारी आवश्यक रहेकोमा जोड दिए । उनले भने,‘कोहलपुरका उद्योगीहरुलाई निरास बनाउने छैनौ । व्यवसायीहरुको हितका लागि काम गरिनेछ । स्थानीय सरकार र हाम्रा बीचमा समन्वय हुनेछ । विकासमा हातेमालो गरेर अघि बढौ ।’उक्त अवसरमा कोहलपुर नगरपालिकाले कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते भएको निर्वाचन मार्फत निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई फूलमाला र अबिर ग्रहण सहित सम्मान गरेको थियो ।

प्रकाशित मितिः बुधबार, चैत्र ४, २०७७     10:54:42 AM  |