कृष्ण ओली । कोहलपुर ।
सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरी जिम्मेवार बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । कोहलपुर क्षेत्रमा पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरी गम्भीर भएर लाग्नुपर्ने उनीहरुले बताएका हुन् ।
सोमवार ईलाका प्रहरी कार्यालय कोहलपुरले सरोकारवालासँग गरेको सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया थियो । सो अवसरमा बोल्ने सरोकारवालाहरुले नगर क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती कमजोर भएकाले दुर्घटना बढिरहेको भन्दै ट्राफिकको आलोचना गरे ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले सवारीको धेरै चाप हुने समयमा नगर क्षेत्रमा ट्राफिक प्रहरी नदेखिने गरेको बताए । आफुहरुले नगरका केही चोकहरुमा ट्राफिक राखिदिन ट्राफिक कार्यालयलाई अनुरोध गरेपनि त्यो कार्यान्वयनमा नआएको उनले जानकारी दिए ।
‘हामीले ठाउँ–ठाउँमा ट्राफिक प्रहरी राखिदिनुहोस् भन्दा चाँही जनशक्तिको कम रहेको भन्नुहुन्छ’ वडाध्यक्ष थापाले भने, ‘यहाँ सवारी व्यवस्थापनको लागि ट्राफिक माग्दा चाँही छैन भन्ने जंगलको किरानामा लगेर चाँही ट्राफिक राख्दा जनशक्ति हुने यसको अर्थ के हो ?’
सवारी दुर्घटना बढ्नुमा ट्राफिक प्रहरी, सवारी चालक अनुमतिपत्र लाइसेन्स दिने निकाय, सवारी चालक सबैको कमजोरी रहेको उनले बताएका थिए ।
‘दिनप्रतिदिन यस क्षेत्रमा सवारी दुर्घटना बढिरहेका समेत कोही पनि चिन्तित बन्न सकेका छैनन्’ उनले भने, ‘लापरवाहीले सीमा नाघिसकेको छ । सवारी दुर्घटना न्यूनिकरणको लागि वडा कार्यालयले गर्नुपर्ने सहयोग गर्छ ।’
राजमार्ग क्षेत्रका विद्यालयहरुमा बिहान विद्यालय समय र साँझ बिदा हुने समयमा ट्राफिक प्रहरी खटाउन सकिने सवारी दुर्घटनाको भय कम हुने वडाध्यक्ष थापाले बताए । बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले कोहलपुर क्षेत्रमा ट्राफिकको जनशक्ति कम हुँदा त्यसको असर ट्राफिक व्यवस्थापन देखिएको हुनसक्ने बताए ।
सवारी दुर्घटना भएपश्चात आउने समस्या हलको लागि राज्यको ऐन र नियममा रहेर काम गर्नुपर्ने उनले आंैल्याए । ‘सबैभन्दा पहिला सवारी दुर्घटना भएपश्चात आउने समस्यामा राज्यका निकायले नेपाल सरकारको ऐन, नियमलाई कार्यान्वयन गर्नुपर्छ’ अध्यक्ष आचार्यले भने, ‘यहाँ यो (प्रहरी कार्यालय) बार्गेनिङ गर्ने स्थल जहिलेसम्म बनाउने कुरा अन्त्य गर्दैनौं । त्यो बेलासम्म यस्तो समस्या आइरहन्छ ।’
अब ट्राफिक जंगलमा मात्रै गएर बस्नुपर्ने आवश्यक नभएको भन्दै उनले ट्राफिक कहाँ सवारी अव्यवस्थित छ त्यो ठाउँमा व्यवस्थापनका लागि बस्नुपर्ने बताए ।
सोही कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले ट्राफिक व्यवस्थापन फितलो हुनु समेत दुर्घटनाको मुख्य कारण रहेको दाबी गरे । ‘कोहलपुर बजार क्षेत्र भन्दा बाहिर क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती धेरै देखिन्छ’ उनले भने, ‘अब नगर भित्र पनि सवारी व्यवस्थापनको लागि ट्राफिक खटाउनुपर्छ ।’
सवारी दुर्घटना न्यूनिकरणको लागि स्थानीय सरकारले समेत अब भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । नेपाली काँग्रेसका नेता चिन्तामणी धितालले सवारी दुर्घटना शूल्यमा झार्नुपर्छ भन्ने हामी सबैको मान्यता रहेको बताए ।
‘सवारी दुर्घटना न्यूनिकरणको लागि तपाई हामी सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्छ’ उनले भने, ‘सबैभन्दा बढी यसमा जिम्मेवार पक्ष भनेको ट्राफिक प्रहरी हो ।’
नेपालगञ्जतर्फ जाँदै गर्दा हाइस्कुलमा अगाडि मात्रै ट्राफिक प्रहरी देखिने गरेको बताउँदै उनले त्यहाँ सवारीका कागजपत्र चेक मात्रै गर्ने गरेको बताए । ‘हाइस्कुलमा बिहान स्कुल लाग्दा र साँझ बिदा हुँदा यती धेरै भिड हुन्छ ।
त्यो नियन्त्रण गर्ने त्यहाँ कोही पनि छैन’ धितालले भने, ‘ट्राफिकहरु कागज चेक गर्न लाग्नुहुन्छ । बच्चाहरु त्यत्तिकै हिडिराखेका हुन्छन्, एकदमैै गाह्रो छ त्यहाँनेर हामीले हेर्दाखेरी । त्यो समयमा बिशेषगरी ट्राफिक प्रहरीले विद्यार्थीहरुलाई सडक वारपार गराउनको लागि भूमिका खेल्नुप¥यो ।’
नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले सवारी नियम मिच्ने जो कोहीलाई भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘सवारी दुर्घटना न्यूनीकरणको लागि प्रहरीले सवारी नियम मिच्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्छ’ उनले भने, ‘कसैलाई छोड्ने कसैलाई कारबाही गर्ने भन्ने हुँदैन । नियम मिच्ने सबैलाई प्रहरीले कानूनको दायरामा ल्याओस् ।’
सवारी दुर्घटना न्यूनिकरणको लागि स्थानीय तह र ट्राफिक प्रहरीले भूमिका खेल्नुपर्नेमा नेता न्यौपानेले जोड दिए ।
अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले ट्राफिक प्रहरी जंगलको छेउमा भन्दा पनि बजार क्षेत्रमा परिचालन हुनुपर्ने, दुर्घटना पश्चात हुने समस्या समाधनको लागि बार्गेनिङका आधारमा भन्दा पनि ऐन, नियम अनुसार अघि बढ्नुपर्ने, सवारी चालकलाई कानून अनुसार कारबाही गर्नुपर्ने लगायतका सुझाव प्रहरीलाई दिएका थिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले सवारी दुर्घटना न्यूनिकरण र दुर्घटना पश्चात आउने समस्या व्यवस्थापनका लागि सरोकारवालाहरुको सुझाव लिइएको जानकारी दिए ।
‘कोहलपुर क्षेत्रमा सवारी दुर्घटनाको दर बढ्दो र दुर्घटना पश्चात समस्या आउने गरेको देखियो’ उनले भने, ‘दुर्घटना न्यूनिकरण र दुर्घटना पश्चात आउने समस्या हलका लागि सुझावहरु आएका छन् । हामी त्यसलाई कार्यान्वयनमा लैजान्छौं ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले जनशक्ति कमीका कारण सवारी व्यवस्थापनमा समस्या भएको बताए ।