17 September 2024  |   मङ्लबार, अशोज १, २०८१

कोहलपुर प्रहरीको सफलताः ठूलो परिमाणमा हातहतियार र गोली बरामद (भिडिओसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २९, २०७७  

कोहलपुर ।

बाँकेको राप्ती सोनारी गाउँपालिका ५ जबरपुरबाट प्रहरीले ठूलो मात्रामा हातहतियार, गोली, गोली बनाउन प्रयोग हुने बच्चा पदार्थ र वन्यजन्तुका अंगसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलीले बिशेष सूचनाको आधारमा ठूलो परिमाणको हातहतियारसहित गोली बरामद गरेको हो ।

स्थानीय ६८ वर्षीय ऋषिराम थारुलाई पक्राउ गरिएको भएपनि अन्य दुई जना भने फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

‘बिशेष सूचनाको आधारमा हाम्रो टोलीले शनिबार बिहान विभिन्न घरहरुमा छापा मार्दा ठूलो मात्रामा हातहतियार, गोली र गोली बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गर्न सफल भएका हौं’ उनले भने, ‘एक जनालाई नियन्त्रणमा लिएका छौं भने अरु दुई जना फरार छन् ।’

प्रहरीले पक्राउ परेका ऋषिरामो घरबाट २ थान भरुवा बन्दुक, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बारबोर बन्दुक र उनका भाई लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद १ किलो, सटगनमा लाग्ने खोका ५० वटा र सटगण जेगिराउन्ड १ थान बरामद गरेको छ ।

त्यसैगरी ३ थान जरायोको सिंह, बदेलको दात १० वटा, चितलको दात ४ वटा र दुम्सिको प्वाँख समेत फेला परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका खनालको नेतृत्वमा पछिल्लो समय विभिन्न अपराधिक गतिविधि विरुद्ध प्रहरीले अप्रेशन संचालन गर्दै आएको छ ।

यसबारे थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।

भिडिओ

प्रकाशित मितिः शनिबार, फाल्गुन २९, २०७७     2:56:32 PM  |