नेपालगञ्ज ।
बाँके राप्ती सोनारी गाउँपालिका, ६ का आशिष भन्ने धर्मराज मल्ल ठकुरी आफुलाई भ्रष्टाचार विरुद्धका अभियन्ताका रुपमा चिनाउँथे । उनी मातृ भूमी नेपाल नामक भ्रष्टाचार विरुद्धको महाअभियानको अभियान्ता बताउँदै गाउँ गाउँमा पुग्थे ।
गाउँ गाउँ तथा सामाजिक सञ्जालमा उनले भ्रष्टाचारको चर्को विरोध गर्थे । प्रहरीका अधिकारीसँग आफुलाई ठकुरीले भ्रष्टाचार विरुद्धका अभियन्ता भएको भन्दै सेल्फी खिच्थे । आफुलाई अभियन्ता भन्ने ठकुरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ठगीको आरोपमा पक्राउ गरेको
छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानाले नेपाल प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गरेको उजुरी परेपछि उनीलाई पक्राउ गरिएको बताए ।
प्रहरीले ठकुरीलाई राप्ती सोनारी गाउँपालिका, ६ फत्तेपुरबाट बिहीवार पक्राउ गरेको थियो । नेपाल प्रहरीमा भर्ना गरिदिने प्रलोभनमा पारेर ६ लाख रकम ठगी गरेको उजुरी परेपछि उनीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीमा भर्ना गरिदिने भन्दै ठकुरीले सल्यानका भीम बहादुर घर्ती र तारा महतराबाट ६ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरी परेको प्रहरी उपरीक्षक रानाले बताए ।
‘प्रहरी भर्नामा पास गराइदिने भन्दै दुई जनाबाट ६ लाख रकम लिएको खुलेको छ’ उनले भने, ‘दुवै जना प्रहरी भर्नामा पास हुन नसकेपछि कुरा बाहिर आएको हो ।’ अनुसन्धानबाट पक्राउ परेका ठकुरीले एक पटक ४ लाख नगद र अर्को पटक आइएमईमार्फत २ लाख रुपैयाँ बुझेको अनुसन्धानबाट खुलेको बाँके प्रहरीले जनाएको छ ।
उनीहरुकै उजुरीको आधारमा सुरुमा ठकुरीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ठकुरीमाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
ठकुरी पक्राउ परेसँगै अन्य पीडितहरु समेत सम्पर्कमा आइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘ठकुरी पक्राउ परेसँगै अन्य पीडितहरु समेत हाम्रो सम्पर्कमा आउनुभएको छ’ प्रहरी उपरीक्षक रानाले भने, ‘शुक्रबार मात्रै थप २ जना पीडितहरु सम्पर्कमा आउनुभयो ।
उहाँहरु आफुहरु समेत ठगीएको भन्दै उजुरी दिनुभएको छ । अर्का एक जनाले समेत मुद्दा फाँट फोन गरेर आफु पनि ठगीएको जानकारी दिनुभएको छ ।’ प्युठानका युवाले २ लाख र बर्दियाका युवा १ लाख ठकुरीले ठगी गरेको भन्दै शुक्रवार उजुरी दिएका हुन् ।
‘पक्राउ परेका ठकुरीले ४ जनाको ९ लाख रकम ठगी गरेको भनेर उजुरी परेको छ’ उनले भने, ‘हामीले अनुसन्धान अगाडि बढाएका छौं । सबै जनाले प्रहरीमा नाम निकालिदिन्छु भनेर रकम लिएर ठगी गरेको उजुरी दिनुभएको छ ।’ पक्राउ परेका ठकुरीबाट पीडितहरुको पैसा समेत असुलउपर गरी ठगी मुद्दा चलाउने तयारी जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको छ ।