12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

जेब्रा क्रसिङमै अस्ताए मल्ल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७  

मुगुको सोरु गाउँपालिकाबाट उपचार लागि विरामीहरु ल्याएर कोहलपुर झरेका ३७ वर्षीय जयकर्ण मल्ल घर फर्किन पाएनन् । कोहलपुरमा बुधवार राती सडक पार गर्ने क्रममा जेब्रा क्रसिङमै ट्रकले ठक्कर दिदा उनको मृत्यु भयो ।
विरामीहरुलाई राम्रो अस्पतालमा उपचार गराएर घर फर्काउनको लागि कोहलपुर पुगेका मल्ल जेब्रा क्रसिङमै अस्ताए । पैदलयात्रुलाई सुरक्षित तरिकाले सडक पार गर्नको लागि बनाएको जेब्रा क्रसिङ नै उनका लागि असुरक्षित बन्यो ।

……………………………………………………………………

कोहलपुर ।

बाँकेको कोहलपुरमा जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकालाई ट्रकले ठक्कर दिदा एक पैदलयात्रुको ज्यान गएको छ । नेपालगञ्जबाट दैलेख जाँदै गरेको भेरी ग्यास उद्योगको ट्रकले बुधवार राती जेब्रा क्रसिङमै पैदलयात्रुलाई ठक्कर दिएको थियो ।

भे १ ख ११०० नम्बरको ट्रकले विद्युतरोड चोक ठक्कर दिदा मुगुको सोरु गाउँपालिका वडा नम्बर ११ का ३७ वर्षीय जयकर्ण मल्लको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

बुधवार राती करिब ९ बजेतिर बाटो काट्दै गरेका मल्ललाई ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।

जेब्रा क्रसिङमा ट्रकको ठक्करबाट मृत्यु भएका जयकर्ण मल्ल


‘नेपालगञ्जबाट आउँदै गरेको ट्रकले जेब्रा क्रसिङमै ठक्कर दिएको देखिन्छ’ उनले भने, ‘प्रहरीले उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।’

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको जनाएको छ । मृतक मल्ल नेपाली काँग्रेस मुगुको सोरु गाउँपालिका सभापति रहेको नेपाल तरुण दल मुगुका उपाध्यक्ष देबेन्द्र रावलले जानकारी दिए ।

‘उहाँ विरामीहरु ल्याएर उपचारका लागि कोहलपुर आउनुभएको थियो’ उनले भने, ‘बाटो काट्ने क्रममा उहाँलाई तिव्र गतिको ट्रकले ठक्कर दिदा जेब्रा क्रसिङमै अस्ताउनुभयो ।’

उहाँको मृत्युले सोरुको वडा नम्बर ११ शोकमा डुबेको उनले बताए । ‘गाउँबाट विरामीहरु ल्याएर उपचारका लागि आउनुभएका उहाँको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ’ तरुण उपाध्यक्ष रावलले मिसन टुडेसँग भने, ‘जेब्रा क्रसिङमै ठक्कर दिएर पैदलयात्रुको ज्यान लिने ट्रक चालकलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।’ मृतक मल्ल देउडा गायक समेत रहेको उनले बताए । ‘उहाँले देउडा गित राम्रो गाउनुहुन्थ्यो’ उनले भने, ‘मुगुले राजनीतिज्ञ, देउडा गायक गुमाएको छ ।’

मृतक मल्लका श्रीमती, २ छोरा र १ छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतककी आफन्त कमला धामीले जेब्रा क्रसिङमै मानिसको ज्यान लिने सवारी चालकलाई कडा कारबाही हुनुपर्ने बताइन् । ‘कोहलपुरका जेब्रा क्रसिङमा समेत पैदलयात्रु सुरक्षित हुने अवस्था रहेन’ उनले भनिन् ।

यता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले मृतकका आफन्त र ट्रक धनीबीच क्षेतीपूर्ती, छोराछोरीको शिक्षा लगायतको बिषयमा सहमती भएको बताए । ‘मृतकका आफन्तहरुले विभिन्न मागहरु राख्नुभएको थियो’ उनले भने, ‘यो बिषयमा दुवै पक्षबीच वार्ता भएर समेत सहमती भइसकेको अवस्था छ ।’

मृतकका परिवारलाई उचित क्षेतिपूर्ती दिने, छोराछोरीलाई गाउँपालिकाले छात्रवृत्ति दिने लगायतका बिषयमा सहमति भएको बताइएको छ । यसैबीच नेपाली कांग्रेसले आफ्ना नेताको ट्रकको ठक्करबाट भएको निधनमा दुःख व्यक्त गरेको छ ।

कांग्रेस मुगुस्थित सोरु गाउँपालिका कार्यसमिति सभापति रहेका मल्लको निधनमा केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरेका हुन् ।

‘स्वर्गीय मल्ले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक सक्रिय युवा नेतृत्वलाई गुमाएको छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले मल्लप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदनसमेत प्रकट गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २८, २०७७     10:41:14 AM  |