18 September 2024  |   बुधबार, अशोज २, २०८१

कर्णाली उत्सव आजदेखि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७  

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सवको दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । ‘कर्णाली उत्सव, कुडा कर्णाली’का भन्ने नाराका साथ वीरेन्द्रनगरको बुलबुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण सुरु हुन गइरहेको हो ।

कार्यक्रमको संयोजन गरिरहेको ऋति फाउण्डेशनले कर्णाली उत्सव फागुन २९ गतेसम्म चल्ने जनाएको छ । कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने उद्देश्यले उत्सवको दोस्रो संस्करण सञ्चालन हुन भइरहेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने उत्सवको प्रारम्भमै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘कर्णाली किन घुम्ने’ भन्ने विषयमा प्रवचन दिनेछन् ।

आज नै नेपाल–प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्यायले ‘कर्णाली चिनाउने योगी’, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले ‘सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्व’ र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ‘वीरेन्द्रनगरका वैभव’ विषयमा प्रवचन दिने ऋति फाउण्डेशनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए । उनका अनुसार उत्सवमा सामाज, अर्थ र नेतृत्व तीन मूल शीर्षक समेटिनेछन् ।

पहिलो दिन ‘हाम्मो मान्नवी’, दोस्रो दिन ‘सुर्के थैली’ तथा तेस्रो दिन ‘कैथा नेता’ र ‘कैथो नेतृत्व’ मा बहस हुने उनले बताए । यी तीनै मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस हुनेछ । कर्णालीका आर्थिक अवसरको खोजी गर्ने यहाँको जनजीवन, इलम र सीपको चर्चा गर्ने र कर्णालीलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्ने उद्देश्यले उत्सवलाई निरन्तरता दिइएको उत्सवका संयोजक कमल लम्सालले बताए ।

बहसका अधिकांश विषय खस भाषामै आधारित छन् । बहसमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसमेत वक्ताका रुपमा आउने कार्यक्रम छ । ‘कैथा नेता कैथा नेतृत्व’ मूल शीर्षकअन्तर्गत ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश नं २ का मुख्यमन्त्री राउतसँग पत्रकार दिलभूषण पाठकले बहस गर्नेछन् ।

उक्त सत्रमा दुई प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट सङ्घीयताबारे आफ्ना भोगाइ एवं अनुभव साटासाट गर्नेछन् । सङ्घीय सरकारसँग अधिकार बाँडफाँटका विषयमा असन्तुष्टि राख्ने यी दुई प्रदेशका मुख्यमन्त्रीले आफूले गरेका काम र देखेका चुनौती प्रस्तुत गर्नेछन् । ‘कैथा नेता कैथो नेतृत्व’ मूल शीर्षकमा ‘पश्चिममा प्रशासकः पश्चिमका प्रशासक, सरकारी गैरसरकारी, लोकतन्त्रको लयलगायत छन् ।

सुर्के थैली मूल शीर्षकमा ‘कर्णाली घुमाउँटो पड्यो’ सत्रमा योजनाविद् डा. दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुुष्पराज कँडेल, डा.रेणुराज अधिकारी र प्रदेश योजना आयोगका सदस्य योगन्द्र शाहीले बहस गर्दैछन् । ‘पढ्नु पड्डोछः साक्षर शिक्षित र प्राज्ञिक कर्णाली’ सत्रमा सञ्चारकर्मी राजेन्द्र बानियाँले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह, युवा राजनीतिज्ञ मिलन पाण्डे र वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालसँग बहस गर्नेछन् ।

‘हाम्रो मान्नमी’ मूल शीर्षकअन्तर्गत छाउ र भाउ सत्रमा लेखक राधा पौडेल, राजनीतिकर्मी डा.विन्दा पाण्डे, प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा.नवराज केसी, आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रङ्गकर्मी हीराबिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतमसँग सञ्चारकर्मी भूपेन्द्र खड्काले बहस गर्दैछन् ।

त्यस्तै ‘कहरी शुकालो होला कइले जाला कैठ’ शीर्षकको सत्रमा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, सङ्क्रमण रोग विशेषज्ञ डा.अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी र डा.दुर्गा थापा, हाट जान्या, भोट जान्या’ सत्रमा समाजशात्री जनक राईसँग कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले हाट तथा डोल्पाका समाजसेवी धनराम बुढाथोकीले भोट गएका आफ्ना अनुभवबारे पत्रकार नगेन्द्र उपाध्यायसँग बहस गर्नेछन् । उत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको ऋति फाउण्डेशनले जनाएको छ । गत वर्ष यही समयमा कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २६, २०७७     10:09:55 AM  |