कोहलपुर ।
कोहलपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका संगठनको १२ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
सोमबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरी प्रतियोगिता सुरु भएको हो । उद्घाटनको क्रममा बोल्दै नगर प्रमुख रावतले कोहलपुरलाई शैक्षिक हब बनाउनका लागि संस्थागत विद्यालयले निकै महत्वपूर्ण भूमिका खेलेको बताए ।
नीति तथा कार्यक्रममा समावेश गरेर कार्यान्वयनमा लैजाने कुरा महत्वपूर्ण हुने उनको भनाइ थियो । यस्तै क्रिसा बाँकेका अध्यक्ष शिव डाँगीले हरेक वर्ष बालबालिकाको शैक्षिक, बौद्धिक, शारिरीक र सामाजिक रुपमा विकासका लागि कार्यक्रम गरिने गरेको बताए ।
‘यो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइनेछ। क्रिसाले गर्ने गतिविधिले बालबालिकाको सर्वाङ्गिण विकास गर्दछ । शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि क्रिसा प्रतिबद्ध छ ।’ उनले भने ।
यस्तै १२ औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिनमा विभिन्न खेलकुद प्रतियोगिता भएको थियो । मार्चपास, म्यूजिकल चियर, सटपुट र भलिबल खेल भएका थिए । जसमा मार्चपास प्रतियोगितामा रामजानकी सेकेण्डरी स्कुल प्रथम, साईनिङ स्टार दोस्रो र पञ्चमुखी बोर्डिङ तेस्रो हासिल गर्न सफल भए । प्रथम हुनेलाई १० हजार नगद सहित ट्रफी समेत प्रदान गरिएको थियो ।
यस्तै म्यूजिकल चियरमा प्रतियोगितामा छात्रातर्फको खेलमा निकिता खत्री प्रथम, रेखा खड्का दोस्रो र सृष्टी सिंजाली तेस्रो भए भने छात्रतर्फको खेलमा नविन खड्का प्रथम, रिदम बहादुर अर्याल दोस्रो र शुसान्त विष्ट तेस्रो स्थान हासिल गर्न सफल भएका हुन् । यस्तै सटफुट प्रतियोगितामा दिक्षा पुरी प्रथम, श्रृष्टी बुढा दोस्रो र नितु राना मगरले तेस्रो स्थान हासिल गर्न सफल भइन् । यस्तै छात्रतर्फको खेलमा प्रेम बहादुर बुढाथोकी प्रथम,बुद्धिराम बस्नेत बस्नेत दोस्रो र आशिश चन्द तेस्रो भए ।
यसैगरी भलिबल प्रतियोगितामा छात्रतर्फको खेलमा सैनिक स्टारले विजय सुरुवात गरेको छ । सैनिकले रामजानकीलाई हरायो । यस्तै बालविद्या र ब्राइटलाइट बीच भएको खेलमा ब्राइटलाइट विजय भयो ।
यस्तै भलिबल प्रतियोगितामा छात्रातर्फको खेलमा दिपज्योति सेकेन्डरी र ब्राइटलाइट बीच भएको खेलमा ब्राइटलाइट विजय भएको हो । छात्रा तर्फ कै अर्को खेलमा भृकुटी इंलिस मेडियम स्कुल र राम जानकी बीच भएको खेलामा रामजानकीले जितेको हो ।
यस्तै प्रतियोगिताको दोस्रो दिन आज माध्यामिक तहको छात्रछात्राले एथ्लेटिक्सतर्फ ४ गुणा १०० मिटर रिले दौड हुनेछ ।