19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नरैनापुरको सुइया गाउँमा आगलागी, २२ घर जलेर नष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७  

कोहलपुर :

बाँकेको सबै भन्दा विकट मानिने नरैनापुर गाउँपालिका १ सुइयाँ गाउँमा आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएर २२ वटा द्दर पूर्ण रुपमा नष्ट भएका हुन् । घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो। अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ। वडा नम्बर १ का वडा सचिव लक्ष्मी कान्त मिश्राका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

उनले आगलागीका कारण निकै ठूलो क्षति भएको जानकारी दिए । उनले आगलागीबाट घर जलेपछि स्थानीय बासी घरबाट विहिन भएको जानकारी दिए । उनले तल्काल राहत वितरणको लागि गाउँपालिकालाई आग्रह गरिएको बताए ।

यता नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ । तत्काल प्रभावित क्षेत्रका नागरिकलाई राहत प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आगलागीबाट अन्य कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७     1:54:59 PM  |