25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

वाणिज्य पार्क देखि मिनी औद्योगिक क्षेत्रसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७  

शुभाकर विश्वकर्मा, कोहलपुर

कोहलपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवारहरुले मतदाताहरुलाई दर्जन भन्दा बढी आस्वासनका पोका बाँडेका छन् । आगामी कार्यकालका निर्वाचन आउन दुई दिन अघि दुवै जना उम्मेदवारले आफ्नो पक्षमा मतदाता आकर्षित गर्नको लागि आस्वासनै आस्वासन बाँडेका हुन् । पर्सी हुने निर्वाचनमा आगामी कार्यकालका लागि साझा समावेशी व्यवसायी प्यानल र लोकतान्त्रिक समावेशी व्यवसायी समूह चुनावी मैदानमा छन् । केन्द्रमा राजनीतिक रुपमा विभाजित सत्ताधारी नेकपा समर्थित साझा प्यालनको कमाण्डर विष्णु खनाल छन् । यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूहका व्यावसायीहरुको नेतृत्व लक्ष्मणराज पौडेलले सम्हालिरहेका हुन्।

बुधबार कोहलपुर जेसीजले आयोजना गरेको ‘कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवारसँग ककस कार्यक्रम’मा खनाल र पौडेलले एउटै प्रकारका दर्जनौ आस्वासनहरुको घोषण गरेका हुन् । उक्त कार्यक्रममा खनाल र पौडेल मुख्य वक्ताका रुपमा थिए । उनीहरुलाई कसले अगाडि बोल्ने भन्ने बारेमा गोला प्रथा गरिएको थियो । अगाडि बोल्ने पालो खनालको प¥यो । जेसीजद्धारा आयोजित ककस कार्यक्रम, गोला प्रथा र बोल्दा अर्को उम्मेदवारको कुरा काट्न नपाउने अन्र्तराष्ट्रिय अभ्यास हो । जहाँ उम्मेदवारले निश्चित समयावधिभित्र आफ्ना कुरा पात्र राख्न पाउँछ ।

उक्त अवसरमा बोल्दै साझा समावेशी व्यवसायी प्यानलका अध्यक्ष उम्मेदवार विष्णु खनालले आफूले निर्वाचन जितेको भोलीपल्टबाट काम थालनी गर्ने बताए । उनले आफू कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित भएमा सबैभन्दा पहिला कोहलपुरको न्युरोडदेखि दशविगाहसम्मको ग्रीन बेल्डसम्म पानी र बस्ने ठाउँको व्यवस्था गर्ने र रेलिङ हाल्ने घोषणा गरे । उनका अनुसार न्युरोड क्षेत्रमा कोहलपुर उद्योग वाणिज्य संघले ‘वाणिज्य पार्क’ निर्माण गरिनेछ । कोहलपुर क्षेत्रका उद्योगी र व्यवसायीहरुका मुद्दा आफ्ना प्रमुख प्राथमिकता हुने उनको भनाइ थियो ।

‘कोहलपुरमा समस्याका रुपमा रहेको घरबेटी र घरभाडामा बस्नेहरुको समस्या समाधानको लागि स्पष्ट कानुन बनाएर बैधानिक नीति निर्माण गरिनेछ ।व्यवसायीहरुलाई करको दायरामा ल्याउने, क्षमता विकास,तालिम प्रदान गर्नेछु । व्यापारीहरुको हक र हित तथा अधिकारको सुनिश्तिताको व्यवसायीहरुको एकतालाई जोड दिएको छु ।’ खनालले भने ।

अध्यक्षका उम्मेदवार खनालका अनुसार उद्योग वाणिज्य संघको निर्माणधिन भवन निर्माण कार्य सम्पन्न गरिनेछ । उद्योग वाणिज्य संघले निर्माण गरेको हाटबजार व्यवस्थित गर्ने र सरकारी स्वामित्वमा रहेको कृषि हाट बजारलाई पनि स्तरोन्नती गर्न नगरपालिकासँग सहकार्य गर्ने आस्वासन थियो । उनले उद्योग वाणिज्य संघलाई वस्तुगत व्यवसायीहरुको पनि साझा थलो बनाउने र छुट्टै संरचना निर्माण गरिने आस्वासन दिए ।

उनले अघि भने,‘अहिलेसम्म हार र जित स्वीकार गर्दै आएको छु । २४ वर्षसम्म व्यवसायीहरुकै हितका लागि संघर्ष गरे ।एकपटकको लागि मेरो प्यानललाई जिताउनुहोस । म उद्योग वाणिज्य संघले गर्ने काम के हो । तीन वर्षमा देखाइदिनेछु ।’ लुम्बिनी प्रदेश सहित अन्य प्रदेशका उद्योग वाणिज्य संघहरुलाई कोहलपुरले गरेका काम हेर्न आउने बनाउने छु । यस्तै उनले आफ्नो लागि अहिलेको उम्मेदवारी अन्तिमपटक भएको समेत बताए ।

यसैगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहका अध्यक्षका उम्मेदवार लक्ष्मण राज पौडेलले पनि खनालले दिएका केही आस्वासन दोहो¥याए । कृषि हाट बजारलाई व्यवस्थित बनाउने, उद्योग वाणिज्य संघको भवन निर्माण कार्य सम्पन्न गर्ने, व्यवसायीहरुका समस्या समाधानको लागि सक्रिय पनि उनले प्रतिबद्धता व्यक्त गरे । ‘यहाँहरुले मलाई माया होइन विस्तास गर्नुहोस् । आशा होइन ढुक्क हुुनुहोस् ।आशाले मान्छेलाई सफलता दिदैन ।तपाई ढुक्क हुनुपर्छ हरेक कुरामा । यो युवा हुँ म । जसमा जोश, जाँगर र होस पनि छ । यसकारण जिताउनुहोस हाम्रो प्यानललाई ।’

उनका अनुसार उद्योग वाणिज्य संघ सरकार होइन, संस्था हो । आफूले उद्योग वाणिज्य संघ छायामा परेको हुँदा आफूले क्रियाशिल बनाउने पनि उनको प्रतिबद्धता रहेको छ । यस्तै टाउन प्लानिङ क्षेत्रमा व्यवस्थित पार्किङ, कोहलपुरलाई व्यवसाय मैत्री सहरका रुपमा विकास गर्ने, चोरी नियन्त्रणको लागि आफ्नो पहल हुने पौडेलको भनाइ छ । उनले अघि भने,‘सडक क्षेत्र व्यवस्थित बनाइनेछ । दुर्घटना न्युनिकरणका लागि अब डिभाइडर होइन आकाशे पुल आवश्यक छ । कोहलपुरमा आकाशे पुल बनाउनुपर्छ । बन्दै गरेको नौवस्ता औद्योगिक क्षेत्रलाई व्यवस्थित बनाउनु पर्ने र छिटो सम्पन्न गर्नुपर्छ । कोहलपुर नगरपालिकाभित्र मिनी उद्योग क्षेत्र बनाउनुपर्छ ।’ उक्त अवसरमा अध्यक्षका उम्मेदवार र व्यवसायीहरु बीच प्रश्नोत्तर कार्यक्रम समेत भएको थियो ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन २०, २०७७     9:35:19 AM  |