अझै भेटिएन एम्बुलेन्सको ठक्कर दिएको पाटेबाघ



सुदीप अधिकारी, बर्दिया, फागुन १६

पुर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज भित्र एम्बुलेन्सको ठक्करबाट घाइते भएको एउटा वयस्क पाटे बाघ अझै भेटिएको छैन । निकुञ्ज भित्र पर्ने राजमार्गको रम्मापुर–सैनवार सडकखण्डको बीचमा रहेको बुढी खोला नजिकै शनिबार दिउँसो एम्बुलेन्सको ठक्करबाट एउटा वयस्क पाटे बाघ घाइते थियो ।

नेपालगञ्जबाट पश्चिमतर्फ जाँदै गरेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बुढि खोला नजिक पाटे बाघलाई ठक्कर दिएको थियो । एम्बुलेन्सले बाघलाई ठक्कर दिए लगत्तै एम्बुलेन्स चालकले सेनाको सैनवार चेक पोष्टमा आएर बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई जानकारी गराएका थिए ।

एम्बुलेन्स चालकले बाघ घाइते भएको भनी खबर गरेलगत्तै निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्ज प्रशासनको टोलीले घाइते भएको बाघको खोजी गरिरहेको छ । चोटले रन्थनिएर बाघ निकुञ्ज भित्रै छिरेको निकुञ्ज कर्मचारीको अनुमान छ । ठक्कर दिएको घटना स्थलमा बाघको रगत देखिएको छ । भने एम्बुलेन्समा बाघको रौँहरु पनि टाँसिएको छ ।

‘घटनास्थल राजमार्गमा बाघको रगत छ, एम्बुलेन्समा बाघको रौँहरु पनि टाँसिएको छ । त्यसैले बाघ जोखिममा रहेको हाम्रो अनुमान छ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने ।

घाइते बाघ जोखिममा रहेकाले घटनास्थल आसपासमा नेपाली सेनासहित निकुञ्जको टोली खटिएको र घाइते बाघको खोजी भइरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । २ वटा हात्तीको सहायतामा सेना र निकुञ्जको टोलीले बाघको खोजी गरिरहेको उनले बताए । आइतबार साँझसम्म पनि घाइते बाघ फेला परेको छैन ।

घाइते बाघ कुनै पनि बेला राजमार्गमा देखिन सक्ने खतरा रहेको भन्दै निकुञ्ज प्रशासनले निकुञ्ज भित्रको राजमार्ग क्षेत्रमा सवारीचालकलाई सावधानी अपनाउन भनेको छ ।

पुर्वपश्चिम राजमार्ग भित्र पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडक खण्डमा यसअघि बस र कारको ठक्करबाट दुई वटा वयस्क पाटे बाघ मरेका छन् । भने २ महिना अघि अम्रेनी चिसापानी सडक खण्डमै बाघले मोटरसाइकलमा सवार एक महिलालाई मोटरसाइकलमै झम्टेर मारेको थियो । पछिल्लो समय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा बाघको जोखिम बढेको छ ।

राजमार्गमै बाघ देखिन थालेपछि निकुञ्ज प्रशासनले अम्रेनी–कर्णाली चिसापानी सडकखण्डमा रातीको समयमा मोटरसाइकल र साइकल र पैदल यात्रीलाई हिडडुल गर्न निषेध गरेको छ ।

निकुञ्ज भित्र पर्ने राजमार्गको दुवैतर्फ झाडी रहेकाले राजमार्गमा वन्यजन्तुको जोखिम बढेको स्थानियको भनाई छ । निकुञ्ज भित्र पर्ने राजमार्गको दाँया बाँया ३१÷३१ मिटर क्षेत्र तत्कालका लागि झाडी सफा गर्नु पर्ने स्थानीयले माग गर्दै आएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रम पर्ने राजमार्गलाई वन्यजन्तुमैत्री बनाइनु पर्ने संरक्षणकर्मी तथा सरोकारवालाहरुको माग छ ।

पछिल्लो समय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा वन्यजन्तुले मान्छे मार्ने र वन्यजन्तुहरु सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढेपछि राजमार्गलाई वन्यजन्तुमैत्री बनाउनु पर्ने संरक्षणकर्मी तथा सरोकारवालहरुले माग गरेका हुन् ।

फोटो फाइल : सुदीप अधिकारी

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १७ गते सोमबार