बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको लागि एक/एक वटा एम्बुलेन्स खरिद गरिएको छ । निर्वाचन क्षेत्र विकास कोषको योजना अन्तर्गत राजपुर र गेरुवाको लागि एक/एक वटा एम्बुलेन्स खरिद गरिएको हो ।
लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुले आफ्नो निर्वाचन क्षेत्र विकास कोष योजना अन्तर्गतबाट एम्बुलेन्स खरिदको लागि बजेट विनियोजन गरेकी हुन् ।
राजापुर नगरपालिका ६ को मानपुरटपरा स्वास्थ्य चौकी र गेरुवा गाउँपालिकाको रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरिद गर्न लागि बजेट विनियोजन गरेकी थिइन् ।
उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईले २ वटा एम्बुलेन्स खरिदको लागि १०/१० लाखका दरले बजेट छुट्याइएको जानकारी दिए । उनका अनुसार उपसभामुख थारुले निर्वाचन क्षेत्र विकास कोष योजना अन्तर्गतको कार्यक्रमबाट चालू आव २०७६/७७ मा ६ वटा योजनामा बजेट विनियोजन गरेकी छन् ।
‘दुवै एम्बुलेन्स खरिद भएर पनि आइसकेका छन’ स्वकीय सचिव चौलागाईले भने, ‘केही दिनमा नै सम्बन्धित स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिनेछ ।’
प्रदेश सरकारबाट प्राप्त एम्बुलेन्स अबको केही दिनमै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने राजापुर नगर प्रमुख शिवप्रसाद थारुले मिसन टुडेलाई जानकारी दिए । सम्बन्धित स्वास्थ्य संस्थाले नै एम्बुलेन्स सञ्चालन गर्नेछन् ।
गेरुवामा भने पहिलोपटक आफ्नै एम्बुलेन्स पुग्न लागेको बताइएको छ । यसअघि गाउँपालिकाको आफ्नै एम्बुलेन्स नहुँदा स्थानीयहरुले सास्ती पाउँदै आएका थिए । एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।










प्रतिक्रिया दिनुहोस्