शुभाकर विश्वकर्मा, कोहलपुर
स्थानीयको विरोधकाबीच बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । कडा सुरक्षाका घेरामा बीच लुम्बिनी प्रदेशकै गौरवको आयोजनाका रुपमा रहेको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको हो ।
मंगलबार एक कार्यक्रमकाबीच नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले संयुक्त रुपमा भूमिको पूजा गरेर शिलान्यास गरेका थिए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा नौवस्ता औद्योगिक क्षेत्रको नेपाल प्रहरी र शसस्त्र र जनपथ प्रहरीहरुको सुरक्षा घेराभित्रबाट स्थानीय नागरिकहरुको नाराजुलुस र विरोधका बाबजुत शिलान्याय गरिएको हो । ‘आर्थिक विकासको लागि औद्योगिक पूर्वाधार, समृद्ध नेपाल सुखी नेपालीको आधार’ भन्ने मूल नाराका साथ नेपाल सरकारबाट घोषित नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
औपचारिक कार्यक्रम शुरु हुनु अघिदेखि नै गाँभर र पितमारी क्षेत्रका बासिन्दाहरुले सरकारले आफूहरुको उचित व्यवस्थापनबिना नै शिलान्यास गरेको भन्दै विरोध सुरु गरेका थिए । उचित व्यवस्थापनको माग सहित विरोध गरिरहेका नागरिकहरुलाई कार्यक्रम स्थलमा प्रवेश समेत गर्न दिएनन् ।
उनीहरुलाई सुरक्षाकर्मीले कार्यक्रम स्थल प्रवेशमा अवरोध गरेका थिए । उनीहरुले कार्यक्रम सञ्चालन अवधिभर विरोध गरिरहे । तर सुरक्षाका घेराका बीच कार्यक्रम सञ्चालन भइरहयो । उनीहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्न नदिन सयौको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
१२ वर्षदेखि गाँभर क्षेत्रमा भूमिहीन र सुकुम्बासीको रुपमा बस्दै आएकी स्थानीय प्रेमा परियारले जनतालाई आफ्ना माग सहज रुपमा राख्न नदिन अवरोध गरिएको भन्दै जनताका आवाज थुन्ने काम भएको बताइन् । उनले औद्यागिक क्षेत्र निर्माण हुँदा आफूहरुको बस्ती विस्तापन हुने भएकोले उचित व्यवस्थापनपछि मात्रै निर्माण कार्य शुरु गर्न आफूहरुले माग राख्न खोजेको बताइन् ।‘हामीले लामो समयदेखि बस्ती व्यवस्थापनको माग गर्दै आएका छौ ।
औद्योगिक क्षेत्र निर्माण हुँदा हामीलाई विस्तापित गरिनु हुँदैन भन्ने माग हो’उनले भनिन्,‘सरकारले हाम्रो व्यवस्थापन नगरेसम्म काम अघि बढ्न दिदैनौ । सरकारले हाम्रो माग पुरा गर्नुपर्छ । आज हामीलाई अमानवीय व्यवहार गरियो ।’ अर्का स्थानीय अमर बहादुर शाहीको पनि माग यस्तै छ ।उनका अनुसार सरकारले अहिले भूमि आयोग मार्फत काम पनि गरिएकोले यस क्षेत्रमा रहेका नागरिकलाई उचित व्यवस्थापन हुनुपर्छ । गाँभर र पितमारी क्षेत्रका नागरिकहरुको व्यवस्थापन सहित जग्गा र लालपूर्जा समेत सरकारले दिनुपर्ने उनको
माग छ ।
२०४६ सालदेखि गाँभर क्षेत्रमा बसोबास गर्दै आएका बलबहादुर सुनार आफू अहिले पनि भूमिहीन र सुकुम्बासीका रुपमा बस्दै आएको बताउँछन् । उनी भन्छन्,‘ हाम्रो माग धेरै छैन । बस्ती व्यवस्थापनको ज्ञारेन्टी हुनुपर्छ । उद्योग खोल्ने कुराको हामी स्वागत गर्न तयार छौ । तर राज्यले निषेध गरेको छ ।यसमा हामीलाई चित्त दुःखेको छ ।’
स्थानीयहरुका अनुसार त्यहाँ करिब ६ सय भन्दा बढी घरधुरी अव्यवस्थित बसोबासीका रुपमा लामो समयदेखि बस्दै आएका छन् । उक्त अवसरमा बोल्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्र निर्माणका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेर मात्र सरकारले शिलान्यास गरेको बताएका थिए ।
३३८ विघा क्षेत्रफलमा फैलिएको नौवस्ता औद्योगिक क्षेत्रले बाँकेको विकासमा ठूलो रोजगारीको अवस्था सिर्जना गर्ने बताएका छन् । स्थानीयले ६ घर भएको बताएपनि उनले परियोजनाभित्र २५९ घर रहेको बताए । उनका अनुसार पाँच वर्षमा निर्माण सक्ने लक्ष्य बनाइएको यस औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि यसबाट प्रत्यक्ष परोक्ष रूपमा २० हजारलाई रोजगारी दिने लक्ष्य लिइएको छ ।
यस्तै उनले चालू आर्थिक वर्षमा सरकारले औद्योगिक क्षेत्रको लागि ६१ करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिए । शिलान्यास कार्यक्रममा सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) घरधुरी सर्वेक्षण र वातावरणीय प्रभाव मूल्यांकन गरिसकेको अध्यक्ष
बस्नेतले बताए ।









प्रतिक्रिया दिनुहोस्