24 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

कोहलपुरका भूमिहीन र सुकुम्बासी आन्दोलित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७  

कोहलपुर । 

कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । सरकारले भूमिहीन र सुकुम्बासीहरुलाई जग्गा तथा लालपूर्जा प्रदान गर्नको लागि शुरु गरिएको लागत संकलनमा आफूहरुलाई सहभागी नगरेको भन्दै कोहलपुर क्षेत्रका भूमिहीन र सुकुम्बासीहरु आन्दोलित भएका हुन् । कोहलपुरका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुले सोमबार विभिन्न माग राख्दै विरोध ¥याली तथा विरोध कार्यक्रम गरेका छन् ।

‘सम्पूर्ण अव्यस्थित भूमिहीन दलित सुकुम्बासी एकजुट होऔँ’ मुलनारा सहित उनीहरुले सोमबार कोहलपुरमा उनीहरुले नारा जुलुस निकालेका थिए । उक्त अवसरमा उनीहरुले‘ बसाईसराई दर्ता गर,अव्यवस्थित बसोबासी भूमिहीनहरुको समस्या सुनिश्चित गर, एकल महिला तथा तथा बृद्धहरुको सामाजिक सुरक्षा कायम गर, बसाई सराई भएका घरधुरी गर कायम गर ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन र धर्ना दिएका थिए । सोमबार कोहलपुर ११ स्थित सुकुम्बासी टोलबाट शुरु भएको ¥याली तथा भर्ना कार्यक्रम न्युरोड, वडा नम्बर ११ को कार्यालय, चौराह हुँदै नगरपालिकाको कार्यालय अगाडि पुगेर धर्ना दिइएको थियो ।

जहाँ उनीहरुले १ घण्टा धर्ना दिए । अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरले स्थानीय सरकारले भूमिहीन, दलित र सुकुम्बासीहरुको लागत संकलन नगरेसम्म विरोध र धर्ना कार्यक्रम जारी रहने बताएको छ । संघर्ष समितिका संयोजक जीवन थापाले भूमि आयोगको निर्देशनमा स्थानीय तहमा लागत संकलन भएपनि भूमिहीन तथा सुकुम्बासीहरुको लागत संकलन नगरिएको भन्दै आन्दोलनमा उत्रनु परेको बताए ।

अहिले नगरपालिकाले लागत संकलनमा सहभागी नगराएको भन्दै भूमिहीनहरु बसिरहेका शान्तिनगर, लोकनगर तथा डुडुवा बस्तीका नागरिक आन्दोलनमा उत्रेका हुन् । उनका अनुसार शान्तिनगरमा २२ वटा घर बसाईसराई दर्ता भएपनि लागत संकलन प्रक्रियामा सहभागी गराइएको छैन । यस्तै डुडुवा बस्तीमा रहेका करिब ४० घरधुरी मध्ये ३० जति घरको पनि बसाईसराई दर्ता भएको उनको भनाइ छ । उनीहरुको पनि नगरपालिकाले लागत संकल गर्न मानेको छैन ।

यस्तै नगरपालिकाले ती परिवारको घरधुरी कर समेत लिइरहेको छैन । आफूहरुको माग थप बसाईसराई दर्ता गर्नुपर्ने र घरधुरी कर लिनु पर्ने उनीहरुको माग रहेको छ । यस्तै उनीहरुले जन्म, मृत्यु तथा अन्य सिफारिस र दर्ता हुनुपर्ने माग राखेका छन् ।

उनले कोहलपुर नगरपालिकाका प्रमुखले नै अहिलेको अवस्थामा लागत लिन नसकिने र जिल्ला र केन्द्रसँग समन्वयपछि मात्रै नगरपालिकाले प्रक्रिया अघि बढाउने बताएको जानकारी दिए ।‘हाम्रो मुख्य माग नै भूमिहीन र सुकुम्बासीहरुलाई लागत संकलनमा सहभागी हुनुपर्ने हो । बसाईसराई दर्ता र घरधुरी कर लिनु पर्ने पनि हो । नगरपालिकाले इन्कार गरिरहेको छ ।

हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ । ’ संयोजक थापाले भने । यस्तै उनले सोमबार कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीसँग अनौपचारिक छलफल भएको बताए । आफूहरुको आन्दोलनको विषयमा उहाँहरुले सक्रियता देखाउनु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतले बसाईसराई दर्ताको लागि आफूहरुले वडालाई निर्देशन लिने बताएको उनले जानकारी दिए । केहीदिन यता उनीहरुले आन्दोलन गरिएका छन् । तर नगरपालिकाले अहिलेसम्म औपचारिक रुपमा उनीहरुसँग वार्ता गरिरहेको छैन । तर अनौपचारिक रुपमा विभिन्न व्यक्तिबाट आन्दोलन रोक्न दबाब आइरहेको उनले बताए ।

यता कोहलपुर नगरपालिकाले भने आन्दोलनरत पक्षको माग सम्बोधनको लागि कुराकानी भइरहेको बताएको छ । प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले उनीहरुको पनि फाराम भर्ने विषयमा कुराकानी भइरहेको जानकारी दिए । आयोगसँग समन्वय भइरहेको उनको भनाइ थियो । ‘ आन्दोलनरत पक्षको माग सम्बोधनको लागि हामी लागिरहेका छौ ।

आयोग पनि सकारात्मक देखिएको छ । अहिले मिति नै तोकिसकेको छैन । पछि नगरपालिकाले मागको आवश्यक कागजात सहित आएमा फाराम भरिनेछ ।उहाँहरुले आन्दोलन गर्न आवश्यक छैन ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७     8:56:53 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *