तारा सहित दुःख गरेर पेट पाल्दै आएका २५ जना सर्वसाधारणका याचना र आँशुको मूल्य स्थानीय सरकारले बुझेन
शुभाकर विश्वकर्मा, कोहलपुर
शनिबार मध्यान्हतिर तारा मल्ल टहरामा चिया बेच्न व्यस्त थिइन् । केही ग्राहक चिया पिउँदै थिए । अन्य ग्राहकका लागि उनी चिया उमाल्दै थिइन्, ग्याँसको आगोमा । चिया उम्लिन पाएको थिएन, कोहलपुर ११ स्थित चौराह क्षेत्र प्रस्तावित बसपार्क क्षेत्रमा सुरक्षाकर्मीका सिट्टी बच्न
थाले । हातहतियार सहित आएका सुरक्षाकर्मी र नगर प्रहरी दस्ता आइपुग्यो । त्यो क्षेत्रमा रहेका सबै व्यापारीहरुलाई बाहिर निस्कन निर्देशन दिन थाले,उनीहरु । बिस्तारै डोजर समेत अघि बढिरहेको थियो । हातहतियार सहित आएका सुरक्षाकर्मीहरु आफ्नो कर्ममा व्यस्त भएका व्यापारीहरुलाई थर्काउन थाले ।
टिनको पाता र बाँसका सहायताले अस्थायी रुपमा निर्माण गरेका टहरा माथि डोजर चल्न थालिहाल्यो । एकाएक त्यहाँको वातावरण त्रासमय बन्यो । व्यापारीहरु त्रसित भए । हेर्दाहेर्दै सहकारीबाट ऋण निकालेर बनाएको तारा मल्लको टहरा पनि भत्कियो । एकैछिनमा मल्ल सहित अन्य २५ वटा टहरा भत्काइए । त्यसपछि बुढेसकालमा आफ्नो जिविकोपार्जन र अपांगता भएको छोरालाई पाल्नको लागि बनाइएको टहरा भत्किएपछि उनको मनपनि भत्कियो ।
टहरा भत्काइएको केही समयपछि मिसन टुडे त्यहाँ पुग्दा उनी बर्रबरी आँशु खसाल्दै रोइरहेको अवस्थामा भेटिइन् । अरु व्यापारी यत्रतत्र फालिएका सामग्री व्यवस्थापन गर्दै थिए । त्यहाँ व्यापार गर्ने ,पुरुष, युवा र महिलादेखि बृद्धबृद्धा सबै बेचैन देखिन्थे । उनीहरुको अनुहारमा मलिनता प्रष्टै झल्किन्थ्यो । त्यहाँ व्यापार गर्ने मध्ये सबैभन्दा बृद्ध र असहाय थिइन्, तारा । उनी टहरामा डोजर चल्दा सबैभन्दा बढी प्रभावित भइन् । स्थानीय सरकारले नयाँ बसपार्क निर्माणको लागि भन्दै सुरक्षाकर्मी सहित दादागिरी शैलीमा टहरा भत्काइएपछि उनी घर न घाटको भएकी छिन् । उनले त्यहाँ चिया बेचेर पेट पाल्न थालेको लकडाउनको समयपछि हो ।
माइती घर दैलेख भएकी उनी स्याङयाकी हुन् । मल्ल लामोसमयदेखि सुकुम्बासीको रुपमा जीवन गुजारा गर्दै आएकी थिइन् । उनका श्रीमानको केही पहिले दम रोगका कारण मृत्यु भएको थियो । उनको साथमा अहिले अपांगता भएका छोरा मात्रै छन् । उनी हिड्न,डुल्न र काम गर्न सक्दैनन् । तारा छोरा र आफ्नो पेट पाल्नको लागि त्यहाँ चिया बेच्थिन् । अब उनको जिउने आधार कम्युनिष्ट पार्टीको सरकार भएको स्थानीय सरकारले सधैका लागि बन्द गरिदिएको छ ।
टहरा भत्काइएको उक्त क्षेत्रमा मिसन टुडे पुग्दा उनी बर्रबरी आँशु खसाल्दै रोइरहेकी थिइन् । सरकारले आफूहरुलाई गरिखान समेत नदिएको बताउँदै भन्दै थिइन्,‘स्थानीय सरकारले टहरा भत्काइदियो । यहाँ चिया बेच्थे । हातपाउ जोड्दा समेत छोडेनन् । हे भगवान कसरी बाँच्ने होला । अब कहाँ जाने होला ।’ उनी त्यही बस्ने पनि गर्थिन् । अब उनको न गरिखाने माध्यम रहयो त बस्ने बाँस । टहरा भत्काइएपछि बेसाहारा भएकी छन्, उनी ।
पाँच लाख ऋण भएको बताउने ताराले चिया बेचेरै ऋण तिर्दै आएको बताइन् । लामो दूरीको बसर्पाक निर्माण गर्नको लागि भन्दै कोहलपुर नगरविकास समितिले डोजर लगाएर टहरा भत्काइएपछि उनी सहित अन्य २५ जना नराम्रो गरी प्रभावित भएका छन् । उनीहरुले त्यहाँ टहराको भाडा तिर्दै आएका थिए । यता नगर विकास समितिले भने बारम्बार टहरा हटाउनको लागि सूचना जारी गरेको बताएको छ । अटेरी गरेपछि आफूहरुले डोजर लगाउन बाध्य भएको अध्यक्ष लुट बहादुर रावतको भनाइ छ ।
यता व्यापारीहरुले व्यवस्थापन बिना नै आफूहरुलाई हटाइएको भन्दै दुःखेसो गरेका छन् । टहरा भत्काइएका बैचनाथको जि गाउँका सरल पुन मगर स्थानीय सरकारले आफूहरु माथि घोर अन्याय गरेको बताए । उनका अनुसार बरु आफूहरु नगर विकास समितिले भने अनुसार प्रक्रियामा जान तयार थियौ । तर एक्कासी आएर डोजर लगाउँदा आफूहरु घर न घाटको भएको उनको भनाइ छ । नगर विकास समितिले तीन वर्षअघि पनि उक्त स्थानमा डोजर लगाएको थियो । तर अहिले पनि बसपार्क निर्माणको काम हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्