समाचार प्रभाव : मानव सेवा आश्रमद्धारा थारुको उद्धार



शुभाकर विश्वकर्मा,कोहलपुर 

१० वर्षदेखि फलामे साङलोमा बाँधिएका बाँसगढी नगरपालिका वडा नम्बर ४ शंखरियाका फुलबहादुर थारुको उद्धार भएको छ । मानसिक सन्तुलन ठिक भएका कारण वर्षौदेखि गाईवस्तु राख्ने गोठमा बाँधेर राखिएको विषयमा मिसन टुडे दैनिकले समाचार प्रकाशित गरेपछि थारुको उद्धार भएको हो ।

मिसन टुडे दैनिकले फागुन ७ गतेको अंकमा प्रथम पृष्ठमा ‘१० वर्षदेखि फलामे साङलोमा फुलबहादुर’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि सुर्खेतस्थित मानव सेवा आश्रमले थारुलाई उद्धार गरेको हो । उनलाई शुक्रबार मिसन टुडे दैनिककै सक्रियतामा स्थानीय सरकार, प्रहरी र संस्थाको टोलीले घर मै पुगेर उद्धार गरिएको छ । थारुलाई थप उपचार, उद्धार तथा पालनपोषणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको हो ।

बाँसगढी नगरपालिका, वडा नम्बर ४ को कार्यालय तथा सुरक्षाकर्मी र गाउँलेहरुको सहभागितामा उनलाई गाईवस्तु राख्ने गोठबाट उद्धार गरेर व्यवस्थापनको लागि सुर्खेतस्थित आश्रममा लगिएको हो । उनी २०५७ सालदेखि मानसिक रुपमा विक्षिप्त भएका थिए । गाउँलेहरुले त्यो भन्दा अघि उनी इमान्दार र सज्जन मान्छे रहेको बताएका छन् । उनकी श्रीमती सहित छोराहरु समेत थिए । सुन्दर परिवार थियो उनको । तर फूलबहादुर मानसिक रुपमा ठिक नभएपछि उनकी श्रीमतीले छोडेर पोइला गइन् ।

उनका छोरा र नाती अहिले मजदुरी गरेर जिविकोपार्जन गरिरहेका छन् । उनी भने बेवारिसे र कारुणिक जीवन बिताउँदै आएका थिए । मिसन टुडे दैनिकमा समाचार प्रकाशन भएपछि मानव सेवा आश्रमले उद्धार गरेको हो । सुर्खेतस्थित आश्रमकी संयोजक तथा मानव सेवा आश्रमकी केन्द्रीय सदस्य सिर्जना ओलीले मिसन टुडे दैनिकमा समाचार प्रकाशित भएपछि आफूहरुले उद्धार गरेको बताइन् । मानव सेवा आश्रम देशभर बेवारिसेहरुको उद्धार र व्यवस्थापन गर्दै आएको छ ।

‘मिसन टुडेमा उहाँको विषयमा समाचार छापिएको रहेछ । यहाँका सरसँग पनि कुरा भएको थियो । उहाँहरुको विषयमा सबैकुरा थाहा भयो । उद्धार गर्ने निर्णय हामीले लियौ । त्यसपछि बाँसगढीका प्रमुखसँग पनि मेरो कुरा भयो । त्यसपछि हामीले उहाँको घर मै आएर उद्धार गरेको हो । ’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन् । उनी लामो समयदेखि बाँधिएका कारण राम्ररी हिड्न सक्दैन्। तर उनी पहिला भने राम्रो हिड्डुल गर्न सक्थे । मानव सेवाको टिमले थारुको घर मै आएर उद्धार गरेको हो ।

उद्धारको क्रममा उनलाई बाँधिएको बेलादेखि नै नकाँटिएको कपाल काँटिएको छ । नुवाईधुवाई समेत गरिएको हो । उनले एम्बुलेन्सद्धारा सुर्खेत पु¥याइएको हो ।यता बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले अब नगर क्षेत्रमा भएका सहयोगापेक्षी नागरिकहरुको उद्धार नगरपालिकाले गर्ने बताए । उनका अनुसार अब ती सबै नागरिकहरुको जिम्मा स्थानीय सरकारले लिन्छ । उनले मिडिया र संस्थाको सहयोगमा मानवको उद्धार हुनु राम्रो कुरा भएको बताए ।

यस्तै उनले अब आफूहरु समाजमा सहयोगको अभावमा भूईमान्छेको जीवन जिइरहेकाहरुको लागि नगरपालिकाले सहयोग, पहल, उद्धार तथा व्यवस्थापन गर्नेछ । यस्तै आगामी दिनमा सहयोगापेक्षी मानिसहरुको उद्धार, व्यवस्थापन र राहतका लागि बाँसगढी नगरपालिका र मानव सेवा आश्रम बीच सम्झौता पनि गरिएको छ । आगामी दिनमा दुवै पक्षले सहयोगको अपेक्षामा बेवारिसे जीवन बिताइरहेकाहरुको सहयोगको लागि समन्वय गर्न भन्दै सम्झौता भएको हो ।

यता बाँसगढी नगरपालिकाले आश्रमले उद्धार गरेका थारुको व्यवस्थापनको लागि नगद र जिन्सी समेत सहयोग गरेको छ । उनलाई बाँसगढीबाट सुर्खेतसम्म लैजान तथा व्यवस्थापनको लागि नगद पाँच हजार रुपैयाँ सहित अन्य जिन्सी सामान सहयोग गरिएको नगरपालिकाका स्टोर शाखाका शेर बहादुर केसीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ९ गते आइतबार