सकियो अवधी पत्रकार संघ नेपालको भेला



नेपालगन्ज ।

अवधी पत्रकार संघ नेपालको भवन निर्माण कार्यले तिब्रता पाउने भएको छ । शनिबार डुडुवा गाउँपालिका वडा नं ५ को कम्मरशाह बाबा मजार स्थलमा सम्पन्न भएको संघको भेला तथा प्रशिक्षण कार्यक्रमले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको हो । भेलामा सहभागी अतिथिहरूले संघको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि संघले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको छ ।

कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाह, प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, नेपालगन्ज उद्योग वाणिाज्य संघका निवर्तमान अध्यक्ष तथा कसौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

संघको बिकासका लागि अध्यक्ष शाह तथा पत्रकार केसीले ५१-५१ हजार नगद र बैश्यले हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । गाउँपालिका अध्यक्ष शाहले प्रतिबद्धतासँगै संघले संस्थागत बिकास अवधी भाषी पत्रकार र समुदायको उत्थानका लागि सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

संघका केन्द्रीय अध्यक्ष राकेश मिश्रले प्रेस स्वतन्त्रता सेनानीद्वय पन्नालाल गुप्त र राम गोपाल बैश्यको स्मृतिमा पन्ना,रामगोपाल अवधी पत्रकारिता पुरस्कार लागि अक्षय कोष स्थापना गरेको जानकारी गराउँदै कोषमा आफुले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भेलामा संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, बरिस्ठ अधिवक्ता बिजय गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका सह–सचिव सकिल अहमद कादरी, प्रेस मंच नेपालका अध्यक्ष आशिष गुप्ता र रामगोपाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष अजय गुप्ताले संघले आगामी दिनमा अपनाउनुपर्ने रणनीति, खेल्नुपर्ने भुमिकाका बारेमा बोलेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २ गते आइतबार