फोहोर सोहोर्न जुटे बालबालिका



कोहलपुर ः
बाँकेको कोहलपुर नगरपालिकालाई सफा बनाउन ‘स्वच्छ, सफा र हरित कोहलपुर’ अभियान सुरु भएको छ । समृद्ध नारा लिएको कोहलपुर नगरपालिकाले उचित ध्यान नदिदाँ नगरपालिका क्षेत्र फोहोर र दुगन्र्धित बन्दै गएको भन्दै यहाँका बालबालिका र युवाहरुले हरित कोहलपुर अभियानको थालनी गरेका हुन् ।

अभियान अन्तर्गत अबदेखि प्रत्येक हप्ताको शनिबार सरसफाई अभियान हुने बताइएको छ । अभियान कोहलपुर नगरपालिका क्षेत्रका बाल क्लब तथा सामाजिक क्षेत्रमा लागेका युवा तथा बालबालिकाहरुले हरित कोहलपुर बनाउने उद्देश्य सहित थालनी गरेका हुन् ।

उनीहरुकै सक्रियतामा अहिले सम्म दुई पटक कोहलपुरका विभिन्न क्षेत्रमा सरसफाई गरिसकेका छन् ।सरसफाई अभियानको नेतृत्व गरिरहेका रमेश वर कोहलपुर नगरपालिका दुर्गन्धित बन्दै गएपछि आफूहरु एकजुट भएर फोहोर अघि बढेको बताँउछन् । उनका अनुसार तत्काल केही क्लबका साथीहरु मिलेर अभिायन सुरु गरिएको हो । पहिलो पटक आयोजना गरिएको सरसफाई कार्यक्रममा होटल कृष्णाले सहयोग गरेको थियो ।दोस्रो पटक नगर बाल सञ्जाल कोहलपुर र अन्य केही स्वयमसेवक समुहहरुले सहयोग गरेका थिए ।

‘नगरपालिकाको नीति तथा कार्यक्रममा हरित कोहलपुरका नारा मात्रै छ । तर जनप्रतिनिधिहरुको यसमा ध्यान जान सकेन । अब हामी संस्थागत रुपमा अघि बढ्न खोजिरहेका छौ ।’ उनले भने । दुईपटक स्वयसेवकको रुपमा सरसफाई गरिएपनि अब भने एउटा समिति नै बनाएर सरसफाई कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

यो अभियान हरित कोहलपुर नभएसम्म सकिनेछैन ।सरसफाईमा आवश्यक पर्ने मास्क र पञ्जा समेत आफूहरुले व्यक्तिगत खर्चबाट किन्ने गरेको वरले जानकारी दिए । कोहलपुर नगर बाल सञ्जालका अध्यक्ष समेत रहेका वरका अनुसार यसमा कोहलपुर क्षेत्रका सम्पूर्ण बालबालिका तथा युवाहरुलाई जोडिनेछ । यस्तै सरसफाई अभियानमा सहभागी कविता रेग्मी पनि कोहलपुर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान दिन नसकेको बताउँछिन् ।

उनीहरुले दोस्रो पटकको अभियानमा होटल अतिथि पछाडि सरसफाई गरेका थिए । त्यहाँ रक्सीका बोतल,सेनेटरी प्याडदेखि विभिन्न प्लाष्टिकहरु जथाभावी रुपमा फालिएको अवस्थामा फेला पारेको बताए । उनले पनि हरित अभियानको लागि आफूहरु एकजुट भएको बताइन् । हरित कोहलपुर अभियानलाई अफल बनाउन आफूहरु सत्रिय रुपमा लाग्ने बताउँदै वरले भने,‘यहाँ जनता फोहोर गर्छन । जनप्रतिनिधि र नगरपालिकाको ध्यान छैन ।

हामी बालबालिका एकजुट भएका छौ । ’ यो अभियानमा जोडिन उनले सम्पूर्ण नगरबासीहरुलाई आग्रह गरेका छन् । कोहलपुर नगरपालिकाले नीति तथा कार्यक्रम मै हरित कोहलपुरको व्याख्या गरेको छ । तर सोही अनुसार काम गर्न नसक्दा कोहलपुरमा पछिल्लो समय फोहोर र दुगन्र्ध फैलिदै गएको छ ।

प्रकाशित मिति : २०७७ माघ २० गते मंगलबार