शुभाकर विश्वकर्मा ।
कोहलपुर कोहलपुर नगरपालिकाका हरेक वर्षका नीति तथा कार्यक्रमा नछुट्ने नारा हो, सफा सुन्दर र समृद्ध नगर । चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमको पहिलो बुँदाको पहिलो नम्बर मै सोच–‘हरित संगम स्थल हाम्रो शहर, सुन्दर, समृद्ध कोहलपुर नगर’ भन्ने उल्लेख गरिएको छ । बुँदा नम्बर ‘ख’मा समेत लक्ष्य–‘सभ्य र समृद्ध नगर बनाउने भन्ने छ ।’ यस्तै समग्र नगरका नीति शीर्षकको सातौ बुँदामा ‘क्लिन एण्ड ग्रिन सिटी’ का रुपमा विकास गरिने लेखिएको छ ।
१५ वटा वडा रहेको कोहलपुरमा केन्द्रको रुपमा रहेको वडा नम्बर ११ मा समेत यस्तै थुप्रै ठाउँ छन् । जहाँ फोहोरका डंगुरहरुले सुन्दर र समृद्ध नगरको नारालार्ई गिज्याइरहेको भान हुने गरेको छ । वडा नम्बर ११ त झन टाउन प्लानिङ क्षेत्रको मुख्य बजार क्षेत्र नै हो । तर यहाँ सबै भन्दा बढी मानिसहरुको आवतजावत हुने स्थानहरुमा अव्यवस्थित सडक, जथाभावी फालिएका फोहोर तथा अव्यवस्थित ढल प्रसस्तै भेटिन्छन् । यसै शिलशिलामा सुर्खेतका जितेन्द्र थापा कोहलपुरमा आए । नीति तथा कार्यक्रम र मिडियामा समृद्धका नगरको नारा सुनेका उनी कोहलपुर पुगेपछि यहाँको दुर्दशा देखेर छक्क परे ।
कोहलपुर नगरपालिकाको ५०० मिटरको दुरी पनि नभएको पूर्वपश्चिम राजमार्ग र बसपार्कको नजिकै फोहोरबारे सामाजिक सञ्जाल फेसबुकमा करिब दुई दर्जन फोटा अपलोड गरे । उनले व्यंग्य गर्दै लेखेका छन्,–‘यी देखिने सुन्दर तस्वीर, सुन्दर दृष्य हुन कोहलपुर नगरपालिका कार्यालय नजिकै, कोहलपुर –११ बसपार्क नजिकैका हुन् । पूर्व पश्चिम जाने आउनेहरु जो कोहि आनन्द र अवलोकन गरेर जाने ठाउँ ।कृपया सेयर गरेर अरु पर्यटक भित्र्याउन सहयोग गर्नुहोला ।’ त्यहाँको राजमार्ग वरीपरीको क्षेत्र जथाभावी रुपमा फालिएका फोहोरका डंगुरहरुले यहाँको सौन्दयतालाई कुरुप बनाएको उनको भनाइ छ ।
प्रष्टै देखिने फोहोरको व्यवस्थापन हुन नसक्नु जनप्रतिनिधिहरुको गैरजिम्मेवारपन रहेको उनको भनाइ छ ।थापा भन्छन्,–‘कोहलपुर त तीन प्रदेशको ट्रान्जिट प्वाइन्ट हो ।यहाँ हरेक क्षेत्रका मानिसहरु आउने गर्दछन् । तर यस्तो अवस्था रहेमा यहाँको नगरपालिकालाई नै समस्या हुने देखिन्छ । यसमा समय मै ध्यान दिनुपर्छ ।’ यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको भेरी शीत भण्डारको पश्चिम गेट नजिक रहेको सडकमा बनाइएको ढल निकास नहुँदा त्यहाँको क्षेत्र दुर्गन्धित बन्दै गएको छ । विगत दुई वर्षयता त्यहाँको ढल निकास नहुँदा ढलको फोहोर सिधै सडकमा आउने गरेको स्थानीय बताउँछन् ।
स्थानीय कृष्ण मल्लले आफ्नो घर नजिकै वर्षौदेखी सडकको छेउमा ढल निकास राम्रोसँग हुन नसकेको बताए । उनका अनुसार दैनिक फोहोर बढ्दै गएको विषयमा नगरपालिकासँग समस्या समाधानको माग गर्दा समेत सुनुवाई हुने नसकेको छैन । त्यहाँ शीत भण्डारको पश्चिम क्षेत्रदेखी करिब १ समय मिटरसम्म ढल बिग्रेको छ ।‘दुई वर्ष भयो यहाँको अवस्था नाजुक छ ।
स्थानीय सरकारले ध्यान दिन सकेको छैन । वर्षमा एकपटक मात्रै आउँछन्। हामीले पनि यस विषयमा ध्यानाकर्षण गराउने सोचिरहेका
छौ ।’ उनले भने । यस्तै सोही क्षेत्रमा व्यवासाय गर्दै आएकी गंगा विश्वकर्माले पसल अगाडि फोहोर हुँदा आफूलाई समस्या
भइरहेको बताइन् ।
उनले पसलकै अगाडि फोहोर हुँदा ग्राहक नै नआउने समस्या भोगिरहेको बताइन् । यी दुई क्षेत्र त प्रतिनिधि उदारहण मात्रै हुन् । कोहलपुरका यस्ता धेरै क्षेत्र छन् । जहाँ फोहोरका कारण समस्या भइरहेको छ । मुल सडकदेखी भित्री सडक तथा अन्य खुल्ला स्थानमा समेत जथाभावी रुपमा फोहोरका कारण दुर्गन्ध फैलिरहेको व्यापक गुनासो आउने गरेको छ । यस विषयमा जिज्ञासा राख्दा वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापा वडा नम्बर ११ टाउन प्लानिङ क्षेत्रमा पर्ने भएकोले फोहोर व्यवस्थापन तथा ढल निकास गर्ने नगर विकास समितिको भएको बताए ।‘हामीले आफ्नो क्षेत्रमा गर्ने काम गरिरहेका छौ ।
यो त नगर विकासको जिम्मेवारी हो । फोहोर व्यवस्थापनका लागि ठेक्का दिएका छन्। उसले गरिरहेको छ । हामीलाई जिम्मा दिएमा काम गर्छौ ।’मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यता कोहलपुर नगर विकास समितिका इन्जिनियर विराज अर्याल नगर विकास समितिमा बजेट अभाव भएका कारण ढल निकास, मर्मत तथा व्यवस्थापनमा समस्या भइरहेको बताउँछन् ।
उनका अनुसार नगर विकासले समितिले समस्या आएको बेला स्थानीयहरुको माग अनुसार काम गर्दै आइरहेको छ ।यस्तै उनले फोहोर व्यवस्थापन पनि नगरपालिकाले गरिरहेको बताए । विगत लामो समयदेखी कोहलपुर नगरपालिकाले फोहोर व्यवस्थापनको लागि भन्दै डम्पिङ साइट बनाएर व्यवस्थापन गरिरहेको छ ।तर सबै ठाउँमा व्यवस्थापन नहुँदा समस्या भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्