‘संसद विघटनको पक्षमा फैसला हुन्छ’



शुभाकर विश्वकर्मा,

कोहलपुर परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले अनुमोदन गरेको संसद विघटनको पक्षले फैसला गर्ने दावी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले बुधबार कोहलपुरमा आयोजना गरेको क्षेत्रीय कमिटीमा मनोनित सदस्यहरुको सपथ तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विघटनको पक्षमा सर्वोच्चले फैसला गर्ने र बैशाख चुनाव दावी गरेका हुन् । उनले प्रधानमन्त्री पक्षीय नेता कार्यकर्ताहरुलाई ढुक्क भएर पार्टी र चुनावी गतिविधिमा सहभागी हुन समेत निर्देशन दिए ।

अहिले संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिट माथि संवैधानिक इजालासमा बहस जारी छ । सर्वोच्च अदालतमा बहस जारी रहेकै बेला प्रधानमन्त्री ओलीका विस्वास पात्र समेत रहेका मन्त्री ज्ञवालीको यस्तो भनाइ आएको हो । नेकपाको स्थायी कमिटीका सदस्य समेत रहेका उनले भने,‘अदालतमा बहस छ । तर कमरेडहरु ढुक्क रहनु भएहुन्छ ।विघटन र जनताको अदालतमा जाने पक्षमा फैसला हुन्छ ।बैशाखमा चुनाव हुन्छ ।’उनले पार्टीको आधिकारिता र चुनाव चिन्हका विषयमा पनि चिन्ता नगर्न समेत उनले कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् । यस्तै अहिले पार्टीमा संकट उत्पन्न हुनुमा पार्टी कै नेताहरुका लोभिपापी चरित्र रहेको उनको भनाइ छ । सरकारले चालेको यो कदम रहर नभइ बाध्यतात्मक रहेको उनले सुनाए ।

मन्त्री ज्ञवालीले अघि भने,‘हामीलाई नेपाली जनताले अभूतपूर्व भोट दिएका थिए । । सोही अनुसार बहुमतको सरकार समेत बन्यो । तर सरकार बनेकै दिनबाट प्रचण्ड लगायतका नेताहरुले असहयोग सुरु गरे । सरकार चलाउन दिइएन । हातखुट्टा बाँधेर हिड्न भनियो । अन्यमा सत्ताबाटै हटाउन अविस्वासको प्रस्ताव पेश गर्ने सम्मका अन्तरघात भयो । जनताको आशा अनुसार काम गर्न नसकिएपछि फेरी जनताको अदालतमा जाने निर्णय भएको छ ।’ विगत लामो समयदेखी जुट र फुटको इतिहास बोकेको नेपालको कम्युनिस्ट आन्दोलन खतराको मोडमा पुगेको समेत उनको भनाइ थियो । जनताको अदालतमा जाने निर्णयलाई तानाशाह भयो,अधिकानायकबाद भन्नेहरु प्रतिगमनका नायिके भएको पनि उनले आरोप लगाए । चुनाव गर्दिन जसरी पनि पद मै बस्छु भनेको भए पो तानाशाह हुन्थ्यो होला भन्दै उनले प्रतिप्रश्न समेत गरेका हुन् । यस्तै उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटनको अधिकार नरहेको कुरालाई नजरअन्दाज गर्दै संसद विघटनलाई व्यवस्था बचाउनको लागि सरकारले ढेड वर्ष पछि हुने चुनावलाई ढेड वर्ष अघि सारेको रुपमा अ¥थ्याए ।

सत्ता कब्जा गर्ने रणनीति फेल भएपछि,जनताको जनमत गुमेपछि चुनावमा जाने भनेर आफ्नै पार्टीका अध्यक्षको निर्णयले आकाश खसेजस्तो भएको भन्दै प्रचण्ड नेपाल पक्षतर्फ इंगित गर्दै व्यंग्य समेत गरे । जिन्दगीभरी पदको वरिपरी मात्रै घुमेका नेताहरुको प्रधानमन्त्री र राष्ट्रपति बन्ने सपना चकनाचुर भएपछि सडकमा ‘हामी यहाँ छौ’ भन्दै आन्दोलन गरिरहेको टिप्पणी समेत मन्त्री ज्ञवालीले उक्त अवसरमा गरेका थिए । प्रचण्ड र माधव नेपालहरुले अहिले जनतामा जाने आँट नभएका कारण पीडा ओकलिरहेको समेत जानकारी दिए । करिब १ घण्टा बोलेका उनले उनले पार्टी एकता र विभाजनको चरण सम्म आइपुग्दा सम्मको परिघटना हेर्दा सचिवालयमा रहेका ओली पक्ष इतरका नेताहरुको हठ र कुण्ठा तथा पदको लालसा नै पार्टी संकटको मुख्य काम भएको बताएका हुन् ।

गुटको नेतृत्वमा रमाउने प्रचण्ड अवसरवादी र अस्थिर चरित्र भएको नेता भएको समेत आरोप ज्ञवालीले लगाए । उनले आफ्नो भाषणमा सरकारले तीन वर्षको अवधीमा सम्झन लायक धेरै काम गरेको बताएका थिए । उनका अनुसार सरकार सधै शुसासन, समृद्धि र भ्रष्टाचारको विरोधमा अडिक भएर लागिरहेको छ ।‘चुनावको तयारी भइसकेको छ । जनताका माझ गएर सरकारका राम्रा कामका बारेमा बुझाउनुहोस ।प्रतिक्रियावादीहरुका बारेमा जनतालाई प्रष्ट पार्नुहोस । अनि सबैले बुझनेछन् ।’ कार्यकर्ताहरुलाई निर्देशन दिदै उनले भने । उक्त अवसरमा नेकपाको क्षेत्रीय कमिटी(१,२ र ३ ) मनानित सदस्यहरुको सपथग्रहण समेत गरिएको थियो ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहीबार