शिवु खनाल, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको काम गर्न नदिने तत्वलाई पराजय गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आइतबार दाङको राप्ती गाउँपालिकामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफुले काम गर्न नपाएपछि प्रतिनिधिसभा बिघटन गर्नुपरेको स्मरण गर्दै काम गर्न नदिने अस्थिरता चाहनेलाई जनताले पराजय गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘जनताको पक्षमा काम हुन थालेको देखेपछि आत्तिएर अवरोध गरिरहन थालेपछि प्रतिनिधिसभा विघटन गरिएको हो, अब निर्वाचनमा त्यस्ता कामै गर्न नदिने तत्वलाई छानी छानी दण्ड दिन्छन् हराउँछन् ।’
बर्तमान सरकार गरिवी हटाउने र विकास समृद्धिको पक्षमा रहेको भन्दै सरकारले जनताबाट राम्रो साझेदारी पाएको उनले बताए । विकासको अभियानलाई कोभिडले पनि नछेकेको तर्क गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोभिडको खोप भित्रिसकेकोले १४ गते मंगलबारबाट देशभरका फ्रान्टलाइनरहरुलाई खोप लगाउने बताएका थिए । ‘पर्सीबाट कोभिडको खोप लगाउन शुरु हुन्छ, चारलाख बढीले पहिलो चरणमा खोप पाउँछन, अग्रपङतीमा खट्नेहरुले पाउँछन्’ प्रधानमन्त्री ओलीले भने । विकासका हरेक शिर्षकमा सरकारले फट्को मारेको उनले स्मरण गराए । उनले भने, ‘९२ प्रतिशत भन्दा बढी ठाउँमा विद्युत भएको छ, कृर्षि क्षेत्रमा निर्यात गर्ने गरी योजना बनेका छन्, शत प्रतिशत बालबालिका विद्यालय जान थालेका छन्, कोही भोकै पर्दैन कोही भोकले मर्दैनन ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले केही व्यक्तिहरु बैठकमा नआएर चौतारी बसेर आफुलाई साधरण सदस्यबाट हटाएको सुन्दा हाँसो लागेको बताए । । आफ्नो नेतृत्वको पार्टीमा आम जनताको समर्थन रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरु पार्टी छाडेर गएपनि पार्टी एकढिक्का रहेको बताए । प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु उक्त विकल्प र आवश्यक रहेको भन्दै अदालतलाई धक्काउने काम कोही कसैले गर्नै नहुने बताए । उनले भने, ‘अदालतमा मुद्धा हाल्न पाइन्छ तर स्वतन्त्र न्यायपालिकालाई कसैले धम्काउन पाउँदैन ।’
दोस्रो लामो पुलको उद्घाटन नेपालको दोस्रो लामो पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुलको उनले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको स्थायी राप्ती उपत्यका भएकाले राप्ती नदीमा पुलको आवश्यकता भएको बताए । निर्धारित समय सिमा अघि नै पुल निर्माण सकिएको भन्दै ठेक्का लिएर लागत बढाउने र दुख दिने निर्माण व्यवसायीलाई राप्तीको पुलले पाठ सिकाएको बताए । टेक्का लिने समयमा काम नगर्ने, लागत बढाउने निर्माण व्यवसायीले पनि सिक्नु पर्छ, सयम सिमा भन्दा अघि नै पुल बनाएर देखाउने निर्माण कम्पनीलाई धन्यवाद, उनले भने । दाङमा निर्माण भएको नेपालको दोस्रो लामो पक्की पुल २०७३ असारमा शुरु भई २०७७ असारमा सम्पन्न भएको थियो । आठ सय ६५ मिटर लूमबाई साडे सात मिटर चौडाइ रहेको उक्त पुल निर्माण गर्न ९२ करोड ६६ लाख लागेको छ ।









प्रतिक्रिया दिनुहोस्