बाँसगढीमा आइपुग्यो दमकल



बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाले संयुक्त रुपमा पहिलोपटक एउटा दमकल खरिद गरेका हुन् । दुवै पालिकाले संयुक्त रुपमा सञ्चालन खर्च समेत व्यहोर्नेगरी दमकल खरिद गरेका हुन् । यी दुवै पालिकामा यसअघि दमकल थिएन । नयाँ दमकल आएसँगै आगलागी नियन्त्रणमा सहज हुने विश्वास लिइएको छ ।

गंगाधर पौडेल । कोहलपुर ।

बर्दियाका बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाले संयुक्त रुपमा एउटा दमकल खरिद गरेका छन् । दुई पालिकाले संयुक्त रुपमा खरिद गरेको अत्याधुनिक दमकल बाँसगढीमा आइपुगेको छ । बाँसगढी नगरपालिकाका इन्जिनियर बलराम पौडेलले दुई पालिकाले संयुक्त रुपमा खरिद गरेको दमकल नगरपालिकामा आइपुगेको जानकारी दिए । ‘सम्झौता अनुसार दमकल आयातकर्ताले यहाँ ल्याइपु¥याएको छ’ उनले भने, ‘करिब ५७ लाख ६० हजार भ्याट रकममा दमकल खरिद गरिएको हो ।’

सुरुमा एउटा दमकल खरिदको लागि दुवै पालिकाले समान ३०÷३० लाख रुपैयाँ विनियोजन गरेका थिए । सोही रकमबाट नै अध्याधुनिक दमकल खरिद गरिएको बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले जानकारी बताए । ‘एक्लै दमकल सञ्चालन गर्न समस्या हुने देखिएपछि बढैयातालको सहकार्यमा एउटा दमकल किन्ने निर्णय गरेका थियौं’ उनले भने, ‘सोही अनुसार टेण्डर मार्फत छानिएको कम्पनीले नयाँ दमकल कार्यालयमा पु¥याएको छ ।’

अहिलेलाई तत्काल दमकल बाँसगढीमा राखिनेछ । त्यहीबाट आगलागी नियन्त्रणको लागि बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाको साथै अन्य क्षेत्रमा समेत प्रयोगमा ल्याइनेछ । दमकल खरिदको लागि यसअघि नै दुवै पालिकाका प्रतिनिधि रहनेगरी एक समिति नै गठन गरिएको थियो । नयाँ दमकलमा ७ हजार लिटर पानी हट्ने क्षमता रहेको छ । दमकल सञ्चालनको लागि छिट्टै नै कार्यविधि निर्माण गरिने नगर प्रमुख अधिकारीले जानकारी दिए ।

‘दमकल आइसकेको छ’ उनले भने, ‘अब छिट्टै सञ्चालनको लागि दुई पालिका मिलेर कार्यविधि बनाउँछौं । कार्यविधि बनेपछि सञ्चालनमा सहज हुनेछ ।’ दमकल नहुँदा यी दुवै पालिकामा आगलागी नियन्त्रणमा लिन समस्या हुँदा ठूलो क्षती हुने गरेको थियो । नयाँ दमकल आएसँगै आगलागी नियन्त्रणमा केही भएपनि सघाउ पुग्ने अपेक्षा पालिकाहरुले राखेका छन् ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकामा नै दमकल भएपछि आगलागीका घटनाहरु नियन्त्रणको लागि सहज हुने बताए । ‘पहिले यहाँ आगलागी हुँदा नियन्त्रणको लागि बाँके र गुलरियाबाट दमकल बोलाउनुपथ्र्यौं’ उनले भने, ‘दुई पालिकाको खरिद गरेको दमकल आइपुगेपछि केही भएपनि सहज होला ।’ अझै पनि बर्दियाका आठ स्थानीय तहमध्ये ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका दमकल छैन । नयाँ दमकलसँगै बर्दिया जिल्लामा दमकलको संख्या चार वटा पुगेको छ । बर्दियामा रहेका दमकलहरु बाँकेमा हुने ठूला आगलागीका घटनामा समेत प्रयोग हुने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १२ गते सोमबार