विद्यार्थीहरुलाई न्यानो कपडा



बर्दिया ।

जिल्लाको बढैयाताल गाउँपालिका दलित विद्यार्थीहरुलाई न्यानो कडा वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको जागृति आधारभूत माध्यामिक विद्यालयका ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

सोही गाउँपालिकाका समाजसेवी कुल बहादुर विकको पहलमा विद्यार्थीलाई स्वीटर, स्कुल ड्रेस, उलनको टोपी गरी करिब ७० हजार बराबरको सामग्री वितरण गरिएको थियो । एक कार्यक्रमका बीच कपडा विद्यार्थीलाई गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले विद्यार्थीलाई सहयोग जुटाइदिने विक तथा सहयोग दिनेहरुलाई धन्यावाद प्रकट गरे । यस्ता कामहरुमा गाउँपालिका सबै व्यक्ति तथा संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्न चाहेको उनले बताएका थिए ।

समाजसेवी विकले आफ्नो जन्मथलोमा केही सानो भएपनि सहयोग होस् भन्ने हेतुले दलित विद्यार्थीहरुको लागि न्यानो कपडा जुटाइएको जानकारी दिए । विगतमा पनि विभिन्न व्यक्ति तथा संघ संस्थाको सहयोगमा विभिन्न कामहरु गरिएको भन्दै उनले आगामी दिनहरुमा समेत गरिने प्रतिबद्धता जनाए । न्यानो कपडाको साथै खेलकुद साम्रगीहरु पाएपछि दलित विद्यार्थीहरु खुशी भएका थिए ।

उक्त कार्यक्रममा गाउँ कार्यपालिका सदस्य चन्द्रकला विक, वडा नम्बर २ का अध्यक्ष काजिमान सुनार लगायतको सहभागिता रहेको थियो । सहयोग जुटाउँने विक इलाका प्रहरी कार्यालय जमुनाहामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत रहेका छन् । प्रहरी सेवाबाट बचेको समय उनले सामाजिक काममा समेत लगाउने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ११ गते आइतबार