कोरोना भाइरस विरुद्धको खोप बाँकेमा ४३ हजार बढि डोज आउँदै



कोहलपुर ।

बाँके जिल्लामा समेत कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । त्यसको लागि पहिलो चरणमा बाँकेका लागि ४२ हजार ६ सय १३ डोज खोप आउन लागेको हो । भारत सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोप बिहीबार मात्र एयर इन्डियाको विमानबाट नेपाल ल्याइएको थियो । त्यसमध्ये ४२ हजार ६ सय १३ डोज खोप बाँकेको लागि पठाउँन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार विमानस्थलमा कोरोना भाइरस विरुद्धको खोप लिन पुगेको रेफ्रिजेटर भ्यान

‘अनुदानमा आएकोमध्ये कती डोज खोप कुन जिल्लामा कती पठाउँनेबारे निर्णय भइसकेको छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘केही दिनमा नै सबै जिल्लामा काठमाडौंमा भण्डारण गरिएको कोरोना विरुद्धको खोप एकैसाथ पठाउँछौं ।’ बाँकेमा आउँने ४२ हजार ६ सय १३ डोज खोप जिल्लाका १८ हजार ५६ जनालाई दिइने बताइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना भाइरस विरुद्धको खोप जिल्लामा समेत आउन लागेको जानकारीमा आएको बताए । अहिले खोप कहाँ, कसरी र कसलाई लगाउने भन्नेबारे केही तयारी नभएपनि खोप आइपुगेपछि छलफल अगाडि बढाइने उनले जानकारी दिए । ‘अहिलेलाई बाँकेमा खोप आउँदैछ भन्ने मात्र जानकारी आएको छ’ संयोजक कुरुम्बाङले भने, ‘खोप बाँकेमा आइपुगेपछि सबैसँग समन्वय गरेर छलफल अगाडि बढाउँछौं ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस विरुद्धको खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ । पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सरफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने मन्त्रालयले तयारी गरेको छ ।

भारतले अनुदानमा बिहीबार पठाएको १० लाख कोरोना विरुद्धको खोप अहिले काठमाडौंको टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ । केन्द्रीय भ्याक्सिन स्टोरमा रहेका ९ वटा कोल्ड रुममध्ये २ वटा रुममा कोभिड भ्याक्सिन भण्डारण गरिएको छ । सुरुमा अहिले काठमाडौंमा भण्डारण गरिएको कोरोना भाइरस विरुद्धको खोप सातै प्रदेशमा पठाइनेछ । प्रवक्ता गौतमका अनुसार यसरी पठाइने खोप रेफ्रिजेटर भ्यान मार्फत कोल्ड स्टोरमा भण्डारण गरिनेछ । प्रदेशमा रहेका भण्डारण कक्षमा भण्डारण गरिएको खोप ७७ वटै जिल्लामा एकैपटक अभियान सञ्चालन गरि खोप लगाउने तयारी रहेको छ ।

मन्त्रालयले कुन प्रदेशमा कति खोप पठाउने भन्ने निर्णय गरिसकेको उनले बताए । यसरी प्रदेशमा पठाइएको उक्त खोप प्रदेशबाट सम्बन्धित जिल्लामा निर्धारण गरिएको खोपको कोटा अनुसार पठाइनेछ । यसअघि नै काठमाडौंमा २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५०० र ३ हजार ७५० लिटर भण्डारण क्षमता भएको कोल्ड रुम तयारी अवस्था राखिएको थियो । उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको छ । मन्त्रालयले पठाउने भ्याक्सिन बाँके नेपालगन्जको कोल्ड स्टोरमा समेत भण्डारण गरिनेछ । नेपालगन्ज र सुर्खेत गरि ३ हजार ७५० लिटर क्षमता भएको कोल्ड रुम तयार गरिएको हो । जहाँ १४ लाख ३६ हजार ७०० डोज भ्याक्सिन भण्डारण क्षमता रहेको मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १० गते शनिबार