18 September 2024  |   बुधबार, अशोज २, २०८१

बाँकेमा अनलाइन टिकट सेवा प्रभावकारी बन्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ ९, २०७७  

कोहलपुर ।

बाँकेमा अनलाइन टिकट सेवा प्रभावकारी बन्दै गएको छ । बढ्दो प्रविधिको विकास र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै पुस ७ गतेबाट सुरु भएको अनलाइन टिकट सेवा प्रभावकारी बन्दै गएको हो । यातायात सेवालाई प्रविधिसँग जोड्न र पेसालाई मर्यादित तथा प्रविधिमैत्री बनाउनको लागि यातायात व्यवसायीहरुको तर्फबाट भने बागेश्वरी यातायात प्रा.लि.ले पहिलोपटक बाँकेमा अनलाइन टिकट सेवा सुरु गरेको हो । यसको लागि प्राविधिक सहयोग भने बोन्जुर म्यानेजमेन्ट प्रा.लि. काठमाडौले गरेको छ ।

अहिले बाँकेमा बागेश्वरी यातायात र नमस्ते कान्तिपुरले सेवा सञ्चालन गरिरहेका छन् । पहिलोचरणमा नेपालगञ्ज र कोहलपुरमा रहेका काउन्टरबाट देशभरको लागि अनलाइन टिकट सेवा प्रवाह भइरहेको छ । बागेश्वरी यातायात प्रा.लि.का महासचिव टंक बस्यालले देशभर प्रविधिमैत्री यातायात सेवा सञ्चालमा जादै गरेको आवश्यकतालाई मध्यनजर गर्दै बाँकेमा पहिलो पटक अनलाइन सेवा सुरु गरिएको बताए । उनका अनुसार सबै गतविधि अनलाइनबाट गर्नको लागि सेवाग्राहीहरुलाई प्रभावकारी, सरल तथा सहज सेवा प्रदान गर्नको लागि अनलाइन टिकट सेवा सुरु गरिएको हो ।

नेपाल यातायात राष्ट्रिय महासंघको जिल्ला समन्वय समितिको संयोजक समेत रहेका उनले छोटो समयमा अनलाइन सेवा निकै प्रभावकारी देखिएको बताए ।‘प्रविधिको प्रयोग गर्दै पेपरलेस सेवा सुरु र्गे हाम्रो उद्देश्य हो । यसले यात्रुहरुलाई निकै ठूलो राहत प्रदान गरेको छ ।’ उनले भने । बस्यालले कर्मचारीहरुलाई सेवा प्रवाह गर्नको लागि र आवश्यक दक्ष जनशक्ति उत्पादन तथा अन्य प्राविधिक सहयोग बोन्जुर म्यानेजमेन्ट प्रा.लि.ले गरेको बताए । यता कोहलपुरमा अनलाइन टिकट सेवा सुरु गरेको बागेश्वरी यातायात प्रा.लि.कोहलपुर काउण्टर सहायक इन्चार्ज गणेश रेग्मी कागजी प्रक्रिया भन्दा अनलाइन टिकट सेवा सरल तथा सहज भएको बताउँछन् ।

उनी भन्छन्,‘ कागजी रुपमा काम गर्दा हामीलाई पनि झन्झट हुन्थ्यो । अहिले सहज र सरल भएको छ । सेवाग्राहीहरुका लागि समेत गुणस्तरीय सेवा प्रवाह भइरहेको छ । यो सेवाबाट यात्रु ठगिने सम्भावना कम हुन्छ । सेवाग्राहीहरुले दुःख पाउँदैनन् ।’ महासचिव बस्यालका अनुसार उक्त सेवा बर्दिया ,दाङ लगायतका जिल्लामा समेत सेवा सुरु गर्ने प्रक्रिया अघि बढेको छ । तीन वटै प्रदेशमा बोन्जुर म्यानेजमेन्ट प्रा.लि.ले यातायात व्यवसायीहरुसँग प्राविधिक सहयोगको काम गर्नेछ । कर्णाली सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश कार्यक्षेत्र हुनेगरी कोहलपुरमा बोन्जुर म्यानेजमेन्ट प्रा.लि.को क्षेत्रीय कार्यालय समेत खुलिसकेको छ ।

पूर्व देखी सुदूरपश्चिम क्षेत्र सम्म सुलभ सेवा उपलब्ध गराउनको लागि कोहलपुरमा कार्यालय खोलिएको बोन्जुर म्यानेजमेन्ट प्रा.लि.का डाइरेक्टर दिपेन्द्रकुमार खतिवाडाले जानकारी दिए । उनका अनुसार पश्चिम क्षेत्रमा एक वर्ष अघि देखि नै सेवा सुरु गर्ने तयारी भइरहेको थियो । तर कोरोनाका कारण एक वर्ष ढिलो गरी सेवा सुरु भएको छ । पुस ७ गतेबाट सुरुवात दुई वटा यातायात प्रा.लि.हरुको सँग मिलेर सेवा सुरु गरिएको उनले बताए । उनले अहिले बाँकेको नेपालगञ्ज र कोहलपुरमा बागेश्वरी र नमस्ते कान्तिपुर, सुर्खेतको काँग्रेविहार,सुदूरपश्चिममा सुनौलो महाकाली, धनगढीमा खप्तड मालिकाले सेवा अनलाइन टिकट सेवा सुरु गरेको अतिवाडाले जानकारी दिए ।

‘सुरुको एक महिना टायल मै बित्यो ।यहाँ हाम्रो सेवा प्रभावकारी देखिएको छ । हामी पश्चिममा सेवा विस्तारको क्रममा छौ ।यातायात सेवालाई प्रविधि अनुसार चलाउने अभियान छ ।’ उनले भने । मञ्जुर म्यानेजमेन्ट प्रा.लि.स्वदेशी लगानीबाट सञ्चालित निजी क्षेत्रको सबै भन्दा ठूलो पुँजीकरण भएको प्रा.लि. हो । यसको लगानी देशभर १५ खरब रहेको छ । अन्य क्षेत्रमा समेत सेवा विस्तारको क्रममा रहेको उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, माघ ९, २०७७     9:49:06 AM  |