12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

सीमा क्षेत्रमा भूमि निर्धारण नहुँदा समस्या (भिडियो सहित हेर्नुहोस्)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ७, २०७७  

शिवु खनाल ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ का अमृत खड्का लामो समयदेखि नेपाल भारत सीमा क्षेत्रमा बसोबास गर्दै आएका छन् । उनले सीमामा थुप्रै समस्या भोगेका छन् । उनी दुवै देशको सीमाना स्पष्ट हुनुपर्ने बताउँछन् । उनले नेपालबाट पनि हाम्रो नेपाली भूमि नाप्ने टोली सीमाक्षेत्रमा आए आफ्नो जग्गा सुरक्षित राख्न तारबार गर्ने बताए । उनका अनुसार भारतीय पक्षले नेपाली भूमिमा विभिन्न बाहनामा दुःख दिने गरेको छ । त्यहाँको सीमामा संरचना निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ ।

पूर्णबहादुर रोकाले सीमा स्तम्भको आधारमा नेपाली भूमि निर्धारण गर्नुपर्ने बताए । सीमा क्षेत्र भैसाहीँ नाकामा रहेको पाँच घरधुरीको संख्या भारत तर्फ रहेको उनले बताए । उनले पनि आफूहरुले लामो समयदेखि भौतिक संरचना निर्माणमा समस्या भोग्नु गरेको जानकारी दिए । अर्का स्थानीय मोहनलाल खड्काको त दश कठ्ठा जग्गा भारतसँग जोडिएको दशगजा नजिकै छ ।सोही जग्गामा घर निर्माण गर्नको लागि उनले तयारी थालेका छन् । उनले सत्रहजार हजार इटा, ढुंगा, छड सिमेन्ट तयारी अवस्थामा राखिसकेका छन् ।

खड्काले घर निर्माणको कामलाई अगाडि बढाउन सकेका छैनन् । सीमा क्षेत्रमा सीमा समस्या भएका कारण उनले भौतिक संरचना निर्माण गर्न सकेको छैनन् । उनी भन्छन्,‘ सीमाक्षेत्र दशगजाको छेवैमा दशकठ्ठा जग्गा छ । घर निर्माणको लागि आवश्यक सबै सामग्री संकलन गरिसके । तर, घर निर्माणको कामलाई अगाडि बढाउन सकिरहेको छैन ।’

स्थानीय खड्का नेपाल भारत सीमाक्षेत्र स्पष्ट नभएकै कारण घर निर्माणको कामलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन् । भैसाहीँ नाकाको पूर्वतर्फ रहेको चुरे पहाड छ । त्यहाँ छ सय ७२ नम्बरको सीमा स्तम्भ छ । यसैगरी पश्चिम सानिमनौरा नाकामा छ सय ७३ नम्बर सीमा स्तम्भ रहेका छन् ।

सीमा स्तम्भको आधारमा नेपाली भूमितर्फ सीधा हेर्ने हो भने नेपाली भूमिमा रहेको अधिकांश नेपाली बस्ती भारत तर्फ जाने उनी बताउँछन् । उनका अनुसार नेपालको दशगजा नै अन्योलमा छ । ठ्याक्कै हाम्रो भूमि कहाँसम्म हो भन्ने समेत थाहा नभएको उनले बताए । अर्का स्थानीय लिला विकका अनुसार सीमा स्तम्भको आधारमा हेर्ने हो भने भैसाहीँ नाका र खिट्कि नाकामा बसोबास गर्दै आइरहेको नेपाली भूमि सबै भारतमा पर्छ ।

खिट्कि नाकामा पन्ध्र घरधुरी संख्या रहेको छ । पन्ध्र घ रमध्ये आठघर भारतमा पर्ने स्थानीयले विकको भनाइ छ । उनी भन्छन्,‘पहाडमा सीमा स्तम्भ छ । तराईमा हामी नाकाबासीहरुको बसोबास रहेको छ । त्यसैले हामी लामो समयदेखि अन्यौलमा रहेका छौ ।’

प्र.जि.अद्वारा स्थलगत अवलोकन

यता दाङको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भारतसँग जोडिएका दाङको सीमाक्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्द, सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एपि टोपबहादुर खनाल, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, दाङका सेनानी प्रमुख विजय बस्नेत, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टराईको संयुक्त उपस्थितिमा अधिकारीले सीमाक्षेत्रको अवलोकन गरेका थिए ।

अवलोकन गर्दै अधिकारीले नाकाबासीहरूसँग भेटघाट तथा नाकाको वास्तविक समस्या बारेमा छलफल गर्नुका साथै सीमाक्षेत्रमा रहेका सुरक्षा युनिटको अनुगमन तथा निरिक्षण समेत गरिएको थियो ।

भिडियो सहित हेर्नुहोस्

प्रकाशित मितिः बुधबार, माघ ७, २०७७     11:25:47 AM  |