कोहलपुर ।
थारु समुदायहरुले माघीसँगै गाउँको अगुवा समेत चयन गर्दैछन् । माघीलाई नयाँ वर्षको रुपमा लिने थारु समुदायले एक वर्षका लागि गाउँको अगुवा समेत छान्ने गरेका छन् ।
बाँके राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरका थारु अगुवा जनक बहादुर थारुले माघीसँगै थारु गाउँमा अगुवा छान्ने चटारो रहेको बताए ।
‘माघीको समयमा थारु समुदायहरुले गाउँको लागि अगुवा चुन्ने गर्दछन्’ उनले भने, ‘माघ २ गतेबाट समुदायमा अगुवा छान्न सुरु हुन्छ । तर अगुवाको लागि थारु गाउँमा चटारो भने केही दिनअघिबाट नै सुरु हुन्छ ।’
यसरी छानिने थारु समुदायका अगुवालाई जिल्ला अनुसार फरक फरक नामले चिनिन्छ । जसलाई बाँके र बर्दियामा बड्घर, कैलाली र कञ्चनपुरमा भलमन्सा तथा दाङमा मताउँ भन्ने प्रचलन रहेको बाँके बैजनाथ गाउँपालिकाका थारु अगुवा तथा बड्घर चन्द्रबहादुर थारुले
बताए ।
उनका अनुसार गाउँमा अगुवा मात्र होइन, थारु सामुदायले गाउँको हुलाकीको काम गर्ने चिरकिया अर्थात चौकीदार, घरमुलीसमेत छनोट गर्ने गरेका छन् । ‘माघीको मुख्य दिनको भोलिपल्ट गाउँका अगुवा लगायतका व्यक्ति छान्ने प्रचलन रहेको छ’ उनले भने, ‘आजभोली भने केही दिनपछि सबैको समय मिलाएर यस्ता पदहरु छान्ने चलन छ ।’
प्रायजसो सर्वसम्मतिमै थारु गाउँमा अगुवा लगायत छानिने गरेपनि कतिपय अवस्थामा भने सहमति नभए निर्वाचन समेत हुने गरेको छ । अबका दिनहरुमा आउने नयाँ अगुवा गाउँ समाजको विकास लगायत आफुहरुको समस्याको समाधान हुने खालको छान्ने गरेको बैजनाथका थारु अगुवा चौधरीले बताए ।
‘थारु समुदायले लोकतान्त्रिक विधिबाट नै वर्षमा एकपटक आफ्ना अगुवा छनौट गर्दछन् ।’ उनले भने, ‘स्थानीय सरकारले समेत यो विधिलाई मान्यता दिनुपर्छ भन्ने थारु समुदायको माग रहेको छ ।’
विकास निर्माण लगायत आफुहरुको समस्यालाई समधान गर्न खालको बड्घर छान्ने तयारीमा आफुहरु रहेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीका रेशम थारुले बताए । बड्घर काम भनेको देउथान हर्ने काम भएकाले सिपालु व्यक्तिको आवश्यकता पर्ने उनको भनाइ रहेको थियो ।
‘अब गाउँ समाजको नेतृत्व गर्ने खालको व्यक्तिको गाउँ समाजमा खाँचो पर्ने गर्छ’ बर्दिया बाँसगढीका अनोज थारुले भने, ‘सोही अनुसार थारु समुदाय अगुवा छान्ने तयारीमा छन् ।’ गाउँ टोलमा भएका समस्याहरुलाई समबन्धित ठाउँमा आवाज पु¥याउने र सम्बोधनको प्रयास गर्ने खालको अगुवा हुुनुपर्ने उनी बताउँछन् ।
थारु समाजमा भएको कला संस्कृति रितिरिवाजको जर्गेना गर्न र लोप हुन नदिनको लागि अगुवा छान्ने गरेको स्थानीयहरु बताएका छन् ।
गाउँ ठाउँको विकास लगायत विवाह शुद्ध गराइदीने खालको भलमान्साको आवश्यकता रहेको कैलाली धनगढीका स्थानीय धनबहादुर चौधरीले बताए ।
‘गाउँ ठाउँको विकासको पूर्वाधारमा जोड दिन सक्ने खालको भलमन्साको आवश्यकता पर्छ’ उनले भने, ‘भलमन्साले कुनै पनि व्यक्तिको पक्ष विपक्ष गरेर निस्पक्ष ढंगले काम गर्न सक्नुपर्ने हुछ ।’ थारु समुदायमा परम्पराकाल देखि भलमन्सा छान्ने गरेको थारु अगुवाहरु बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्