20 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

जनआस्थाको साधारण सभा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको जनआस्था बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बीच संस्थाको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको प्रादेशिक सहकारी संघ ५ को अध्यक्ष तथा बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै उनले सहकारी नीति, विधि र प्रवृत्ति अनुसार चल्नुपर्ने बताए । उनका अनुसार सहकारी गरिब र निमुखाहरुको सारथी हुन सक्नुपर्छ । ‘सहकारी सामुहिक व्यवसाय हो । सहकारी सञ्चालन गर्नका मापदण्ड आवश्यक छ । अहिले त नयाँ सहकारी ऐन आएको छ । ऐन, नियम अनुसार चल्नुपर्छ ।’ उनले भने । अहिले सहकारी एकिकरणको लहर चलिरहेको भन्दै उनले नियम र विधिका आधारमा एकिकरण अहिलेको आवश्यक रहेको बताए ।

अहिले ऋण खानैका लागि धेरै सहकारीमा शेयर सदस्य बन्ने गरेकोले सहकारी विधि अनुसार चल्नुपर्नेमा जोड दिएका थिए । यस्तै जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष बलराम खड्काले बाँकेमा ७६ वटा बहुउद्देश्यीय सहकारी रहेको बताए । बहुउद्देश्यीय सहकारीहरुले एकिकरण गर्नका लागि २ करोड लगानी लगाएको र २ हजार शेयर सदस्य हुनुपर्ने प्रवधान रहेको खड्काको भनाइ थियो ।

सहकारी विभागले निर्देशन गरेअनुसार ब्याजमा पनि माघ १ गतेदेखि १४.७५ प्रतिशत मात्र लिने व्यवस्था गरेको खड्काको भनाइ छ । यस्तै जनआस्था बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णु बेल्वासेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही क्रममा उनले जगेडा कोष, शेयर पूँजी, निक्षेप बचत, कर्जा लगानी व्यवस्थापन र ऋण अनुगमन समिति र संस्थाको आगामी दिनमा राखेका लक्ष्यहरु समेत प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष शिवप्रसाद डाँगीले आ.व. २०७६÷०७७ असार मसान्तसम्मको लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जसमा शेयर पूँजीमा ३३ लाख ५२ हजार ४ सय रहेको छ । बचत ५६ लाख १८ हजार ८५ रहेको उनले जानकारी दिए । कर्जा लगानी ७६ लाख १७ हजार ५ सय, सम्पत्ति हिसाबमा २८ हजार २ सय रहेको छ । यस्तै नगद तथा बैंकमा १६ लाख ९२ हजार ९ सय ९३ रुपैयाँ रहेको उनको भनाइ रहेको छ । साधारण सभामा संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७     10:49:19 AM  |