17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

राष्ट्रिय महिला क्रिकेट, प्रदेश १ सेमिफाइनलमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७  

शिवु खनाल । दाङ ।

प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । प्रदेश १ ले बुधबार भएको पहिलो खेलमा सुदुर पश्चिमलाई ५ विकेटले पराजित ग¥यो । खेलमा सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । टिमले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन जोड्न सफल भइन् । भने निग्मा तामाङले अविजित रहदै ७ रनको योगदान गरिन् ।

बलिङतर्फ सुदुर पश्चिमका लागि दिपा जोराले २ तथा कविता कुवँर र कविता जोशीले १–१ विकेट लिएका थिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो । सुरुवातदेखि खराब ब्याटिङ गरेको सुदुर पश्चिमका लागि जोशीले बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । टिमका लागि सर्वाधिक ठूलो पारी खेलेकी उनले अविजित रहदै १४ रन बनाइन् । भने ओपनर ब्याटर रेवती धामीले ८ रन र लक्ष्मी साउदले अविजित रहदै ९ रनको योगदान गरिन् ।

बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन् । यस्तै शबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १–१ विकेट हात पारेका थिए । यसअघि समूह ‘बी’ मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो । भने सुदुर पश्चिमको यो पहिलो हार हो । सुदुर पश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो ।

यस्तै जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बुधबार भएको दोस्रो खेलमा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको हो । खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा ८८ रनमा सिमित हुन् पुगेको थियो । गण्डकीका लागि सृष्टि पौडेलले सर्वाधिक ३० रन तथा कप्तान शिला क्षेत्रीले २६ रनको योगदान गरिन् ।

बलिङतर्फ बागमतीका लागि कप्तान अस्मिना कर्मचार्य, सुमन खतिवडा, आराती बिडारी र निशा तामाङले १÷१ विकेट लिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । टिमले विशाल योगफल खडा गर्ने क्रममा बागमतीले सुरुवात देखिनै राम्रो सुरुवात पाएको थियो । ओपनर ब्याटरद्वय कन्चन श्रेष्ठ र विन्दा कटवालले ७६ रनको ओपनिङ साझेदारी गरेका थिए । १०.२ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी कन्चनले २९ बलको सामना गर्दै १ चौकासहित २७ रन बनाएकी थिइन् ।

कन्चन आउट भएपछि विन्दालाई साथ दिन सुमन खतिवडा आएकी थिइन् । राम्रो ब्याटिङ गरेका यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी हुन् पुगेको थियो । टिमलाई ठूलो स्कोरतर्फ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमन दोस्रो विकेटका रुपमा आउट हुन् पुगेकी थिइन् । १७.४ ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा आउट हुन् पुगेकी उनले २६ बलको सामना गर्दै ४ चौकासहित ३१ रन बनाइन् । यस्तै विन्दाले भने पारीकै सर्वाधिक धेरै रन बनाइन् ।

राष्ट्रिय प्रतियोगितामा समेत डेब्यु गरेकी उनले ५८ बलमा ३ चौकाको सहयोगमा ३८ रनको योगदान गरिन् । अत्यमा आरती विडारीले १० रनमा अविजित रहदा कप्तान अस्मिना कर्मचार्यले ८ रन जोडेकी थिइन् । बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिएकी थिइन् । यो जितसँगै समूह ‘बी’ मा रहेको बागमतीले २ खेलमा १ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिकामा २ अंक जोडेको छ । भने लगातार दुई खेलमा पराजित भएको गण्डकी समूह चरणबाटै बाहिरिएको छ । यता लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ एक खेल अगावै सेमिफाइनल पुगेको छ ।

प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७     10:39:26 AM  |