17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

३३ जना संक्रमित गम्भीर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७  

कोहलपुर ।

बाँकेका दुई अस्पतालका कोभिड वार्डमा बुधबार साँझसम्म ३३ जना गम्भीर कोरोना संक्रमितको उपचार भइरहेको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत ३३ संक्रमितको अवस्था गम्भीर रहेको
छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरीमा २७ र मेडिकल कलेज कोहलपुरमा ६ जना गम्भीर संक्रमित रहेका
छन् । बाँकेमा रहेका दुई अस्पतालका कोभिड वार्डमा ३२ जना मध्यम खालका कोरोना संक्रमितको उपचार भइरहेको केन्द्रका सूचना अधिकारी तेज ओलीले जानकारी दिए । तीमध्ये भेरी अस्पतालमा २० र मेडिकल कलेज कोहलपुरमा १२ जनाको उपचार भइरहेको छ ।

आठ घण्टामा ३ को मृत्यु

आठ घण्टाको अवधीमा बाँकेका कोरोना अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती साढे १० बजेदेखि बुधबार बिहान साढे ६ बजेसम्मको अवधीमा तीन संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज ओलीका अनुसार मृत्यु हुनेका दुई जना बाँकेका र एक जना बर्दिया जिल्लाका रहेका छन् । बाँके कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको उनले जानकारी दिए । यही पुस ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनी भर्ना भएका थिए ।

सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनीको अवस्था गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको थियो । उनको उपचारकै क्रममा मंगलबार राती भेरी अस्पतालकै कोभिड वार्डमा मृत्यु भएको सूचना अधिकारी ओलीले बताए । यस्तै बाँकेकै नेपालगन्ज उपमहानगरपालिका– २० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो । ७ गते सैनिक अस्पताल राँझामा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उनी सैनिक जवानका बुवा रहेका छन् ।

केन्द्रका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ का ८५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको केन्द्रका सूचना अधिकारी ओलीले जानकारी दिए । उनको उपचारकै क्रममा भेरी अस्पतालको कोभिड वार्डमा नै मृत्यु भएको थियो । बाँकेमा अहिलेसम्म जिल्लाभित्रका ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । जिल्लाबाहिरका संक्रमितको बाँकेमा १ सय २२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा ११ थपिए

बाँकेमा बुधबार पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका एक सरकारी र एक निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका ११ जनामा कोरोना पुष्टि भएको हो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार थपिएका संक्रमितमध्ये २ महिला र ९ पुरुषहरु रहेका छन् । भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परीक्षणमा ७ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको थियो । बाँकेमा बुधबार पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमित डिस्चार्ज भएका थिएनन् ।

प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७     10:37:32 AM  |