30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

प्रधानमन्त्री ओली निकट नेता महेश बस्नेत भन्छन्, ‘चुनाव मार्फत संसद पुनः स्थापना’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १५, २०७७  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

नेकपा केपी ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले संसद पुनःस्थापना नहुने संकेत गरेका छन् । उनले संविधान र विधि अनुसार नयाँ जनादेशमा जानका लागि गरिएको संसद विघटन चुनाव अघि पुनः स्थापना नहुने बताएका हुन् । यूवा संघ नेपाल बाँकेले कोहलपुरमा गरेको युवा भेलालाई सम्बोधन गर्दै मंगलबार यूवा संघका पुर्व अध्यक्ष समेत रहेका बस्नेतले प्रतिनिधिसभा विघटन बाध्यात्मक बदम भएको पनि बताएका थिए ।

आगामी बैशाखमा चुनाव समेत तोकिसकेकोले सबैलाई त्यसपर्छ केन्द्रीत हुन उनले आह्वान समेत गरे । उनका अनुसार पार्टी एकिकरण नेपालको समृद्धि, कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउनको लागि गरिएको थियो । तर पार्टी एकता भएकै दिनदेखि सरकारलाई असहयोग र पद मात्रै खोज्ने प्रवृत्तिका कारण देश नै प्रतिगमन तिर धकेदिएको उनले दाबी गरे ।

‘अहिलेको अवस्थममा संसद पुनःस्थापना हुन सक्दैन । चुनाव तोकिसकेको छ । जनताले पुनः सबैलाई परीक्षण गर्छन् । नयाँ र ताजा जनादेशका साथ प्रतिनिधिसभा पुनःस्थापना हुन्छ ।’ संसद विघटन असंवैधानिक कदम भन्नेहरु राजनीतिक अस्थिरता चाहनेहरु मात्रै भएको नेता बस्नेतले बताए । प्रधानमन्त्री निकट यूवा नेताका रुपमा परिचित बस्नेतले नेकपा अध्यक्ष प्रचण्डको चर्को विरोध पनि गरे । सिराहा र चितवनमा सूर्य चिन्हलाई अस्वीकार गरेर जालसाझी गर्ने प्रचण्ड अहिले सूर्य चिन्ह बोकेर माइतीघरमा रोइलो गरिरहेको भन्दै आक्रोश पोखे ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमपछि पदको लालचा भएका केही एमालेहरु प्रचण्डतिर लागेको भन्दै नेता बस्नेतले उनीहरु कुनैदिन एमाले मै फर्किने आशा व्यक्त गरे । कुनै पनि हालतमा बैशाखमा मध्यवधि चुनाव हुने बताउँदै उनले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेको समेत जिकिर गरे । पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले अघि भने, ‘ओलीले राष्ट्रघातीहरुलाई देश जिम्मा दिनुभन्दा जनतालाई अधिकार दिन्छु भनेर संसद विघटन गर्नु भएको हो ।

निर्वाचन मार्फत जनतालाई फेरी भोट माग्छु । देशको विकास गर्छु भनेर चुनावमा जानु भएको हो ।’ अहिले सडकमा भइरहेका आन्दोलन र विरोध प्रति लक्षित गर्दै नेता बस्नेतले राजनेता ओलीको कदमलाई धेरैले असंवैधानिक भएको बताउने गरेको भन्दै यो कसरी अंवैधानिक कदमको भन्दै प्रश्न गरे । राजनीतिक स्थिरताको लागि यो कदम चालिएको हो ।’ यस्तै उनले अहिले ओली संसदीय दलमा बहुमत रहेको दाबी गरे । धेरैलाई संसद चुनाव भएमा आफू पत्तासाफ हुने भय रहेको भन्दै संसद पुनःस्थापना हुनुपर्छ भन्दै ठूलो स्वर गरेर सडकमा आएको टिप्पणी गरे ।

उक्त अवसरमा बोल्दै यूवा संघ नेपालका सह–संयोजक रमेश पौडेलले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक स्थायित्वको लडाइँ लडिरहेको बताए । उनका अनुसार अहिले लोकतन्त्र र भोकतन्त्र बीच लडाइँ भइरहेको छ । ‘ओली लोकतन्त्र र प्रचण्ड र माधवहरु भोकतन्त्रका लागि संघर्ष गरिरहेका छन् । उनीहरु सबैलाई प्रधानमन्त्री बन्नु परेको छ । कसैलाई राष्ट्रपति बन्नु परेको छ । कसैलाई पार्टीको अध्यक्ष बन्न मन लागेको छ । उहाँहरुको लडाइँ भोकतन्त्रको लडाइँ हो ।

यसमा हामी भ्रममा पर्नुहुदैन’ उनले भने । उनले संसद विघटनलाई विश्वभर प्रचलनमा रहेको व्यवस्थाका रुपमा व्याख्या गरे । यस्तै संविधानसभा सदस्य देवराज भारले संसद विघटनको अन्तिम निर्णय अदालत र नेताहरुको असली मापन जनताको अदालतले निर्धारण गर्ने बताए । कुनै पनि हालतमा बैशाखमा निर्वाचन हुने जिकिर गर्दै परिवर्तन पक्षधरहरुको फेरी एकपटक विजयी हुने उनले बताए । भेलामा बाँके र बर्दियाका ओली पक्षधर नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बुधबार, पुस १५, २०७७     12:39:25 PM  |