30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

संसद विघटविरुद्ध प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस १५, २०७७  

कोहलपुर ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बाँकेसहित देशभर प्रदर्शन गरेको छ ।

संसद विघटनको विरोधमा नेकपाले मंगलबार बाँकेसहित देशभर नै विरोध प्रदर्शन गरेको हो । सोही क्रममा बाँकेको नेपालगन्जमा समेत नेकपाको प्रचण्ड–माधव समूहले विरोध प्रदर्शन गरेको थियो ।

ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद विघटन गरेपछि दैनिक जसो सडकमा प्रदर्शन हुँदै आएको छ । संविधानको मर्म विपरित संसद विघटन गरिएको भन्दै विभिन्न राजनितिक दलहरु तथा नागरिक समाजहरुले सडकमा प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले ओली सरकारको निर्णयलाई संवैधानिक ‘कू’ समेत भन्ने गरेका छन् । मंगलबार स्थानीय विपी चोकबाट सुरु भएको विरोध प्रदर्शन धम्बोझी चोक, घरबारी टोल, त्रिवेणी मोड हुँदै त्रिभुवन चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य महेश्वर गहतराज ‘अथक’, पूर्व राज्यमन्त्री दलबहादुर सुनार, नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, सचिव अशोक कोईराला लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री ओलीको संविधान विपरित तानाशाही प्रवृत्तिको विरोधका लागि सडकमा आउनुपरेको बताएका थिए । बर्दियामा समेत संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले प्रदर्शन गरेको थियो । यस्तै गुलरियामा संसद विघटनको विरोधमा प्रदर्शन गरिएको अनेरास्ववियुका बर्दिया सह–संयोजक रेशम अधिकारीले जानकारी दिए ।

ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएकाले विरोधमा उत्रिनुपरेको उनले बताए । प्रदर्शन पश्चात भएको कोण सभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्नुका साथै पार्टी एकतामा समेत जोड दिएका थिए ।

यसैगरी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीले गरेको तानाशाही कदमका विरुद्ध प्रदर्शन गरिएको बताइन ।

जनताले समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि नेकपालाई बहुमत दिएकोमा प्रधानमन्त्रीले जनताको भावनामाथि खेलवाड गरेर नव–तानाशाही प्रवृत्ती देखाएको उनले आरोप लगाइन् ।

‘नागरिकको सुख, शान्ति, विकास र अमनचयनका लागि त्यति ठूलो मत दिएका हुन् । पाँच वर्षमा नेकपा नेतृत्वको सरकार समाजवादी व्यवस्थामा जानको लागि आधार तयार पार्न सफल हुने आशा सहित मत दिएका हुन ।

तर केपि ओली नयाँ तानाशाह जन्मिए,’ झाँक्रीले भनिन् ‘लामो त्याग र तपस्या अनि बलिदानले प्राप्त भएको नयाा संविधानको धज्जी उडाएका छन् ।’

प्रदर्शनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाएका थिए ।

प्रकाशित मितिः बुधबार, पुस १५, २०७७     9:38:13 AM  |