लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयवासी स्वास्थ्य सेवाबाट बञ्चित छन् ।
भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता छ भालुवाङवासीलाई ।
विगत २० वर्षदेखि भालुवाङमा होटेल व्यवसाय गर्दै आएका नारायण खनालका अनुसार स्थानीय अहिलेसम्म उपचारका लागि बुटवल जाने गरेका छन् । घोराही र तुलसीपुरमा ठूला अस्पतालहरु भए पनि भालुवाङवासी बुटवल नै जाने गरेको उनले बताए ।
‘घोराही जाँदा पनि ५० किलोमिटर जानुपर्छ, त्यहाँ उपचार सम्भव नभए फेरी नेपालगन्ज जानुपर्ने भएकोले बुटवल नै जानेगरेका हौ,’ खनालले भने । बुटवलमा उपचारका लागि सजिलो भने नरहेको उनले बताए । ‘पैसा धेरै लाग्छ, जोहो गर्न गाह्रो हुन्छ, टाढा लैजादा बाटोमा नै ज्यान जान सक्छ, अब राजधानी भएपछि बन्छ कि भन्ने आशा छ’, खनालले भने ।
विसं २०२० यहाँ बस्ती बसेको भए पनि यहाँका स्थानीयले स्वास्थ्य सेवा नपाउँदा दुःख लागेको उनले बताए । विसं २०५७ सालमा अर्घाखाँचीको ढाकावाङबाट बसाइसराई गरेर दाङको भालुवाङ आएका खानालले उपचारका लागि कयौं पटक बुटवल गएको बताउँछन् ।
रोल्पा र प्युठानको प्रवेशद्वार र महेन्द्र राजमार्गको छेवैमा रहेको भालुवाङमा स्वास्थ्यसेवा नहुँदा ११० किलोमिटरको दुरी पार गरेर बुटवलमा उपचार गर्न जानुपर्ने बाध्यता छ उनीहरुलाई ।
विसं २०७५ देखि स्थानीय सरकारले भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तर बृद्धि गरेर एमबीबीएस डाक्टरको व्यवस्था गरे पछि केही राहत महसुस गरेको स्थानीय शारदा गुरुङ बताउँछिन् ।
सानो रोग लागे पनि बुटवल जानुपर्ने भालुवाङवासीलाई अहिले स्वास्थ्य चौकीमा डाक्टर भए पछि केही सजिलो भएको उनले बताइन् । ‘स्थानीय सरकार आएपछि नहुनुभन्दा त धेरै भएको छ तर, सानो भए पनि अस्पताल नै भइदिए राम्रो हुन्थ्यो’, गुरुङले भनिन् । स्वास्थ्य क्षेत्रको लागि गाउँपालिकाको बजेटले थप स्तरोन्नती गर्न समस्या रहेको वडा नं १ का अध्यक्ष ताराबहादुर डिसी बताउँछन् ।
अहेव र अनमीको भरमा रहेको स्वास्थ्यचौकीलाई अहिले डाक्टरको व्यवस्था गरेको उनले बताए । ‘ल्याब र भिडियो एक्सरे सेवा पनि भर्खरै थपेका छौँ, यो भन्दा धेरै गर्न त प्रदेश र सङ्घीय सरकारले बजेटको व्यवस्था गर्नुपर्छ’, अध्यक्ष डिसीले भने ।
सबैको नजर परेर पनि उपेक्षामा रहेको भालुवाङमा प्रदेशको राजधानी घोषणाले न्याय गरेको उनको भनाइ छ । दाङको उपनिवेशको रुपमा रहेको भालुवाङमा राजधानीका संरचना बन्दा विकासले गति लिनेमा स्थानीयको अपेक्षा छ ।
राप्ति गाउँपालिकामा मात्रै ४० हजार जनसंख्या छ । त्यस्तै नजिकको शीतगङ्गा नगरपालिकाको वडा नं ८ र ९, गढवा गाउँपालिकाको १ र २ तथा प्युठानको सरुमारानी गाउँपालिकाको मुख्य बजारको रुपमा भालुवाङ रहेको छ ।
लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङ राजधानी घोषणा गरेपछि विकासले फड्को मार्ने आशामा स्थानीवासी रहेका छन् । भालुवाङमै नभए पनि २७ किलोमिटरमा रहेको लमही बजारमा भर्खरै प्रदेश सरकारले ट्रमा सेन्टर खोल्ने भएपछि भालुवाङवासी पनि खुशी भएका छन् । रासस










प्रतिक्रिया दिनुहोस्