जोखिम मोल्दै तरकारी बिक्री



शिवु खनाल । दाङ ।

दाङ लमही क्षेत्रका किसानलाई यत्रतत्र छरिएर तरकारी बिक्रि गर्नुपर्ने बाध्यता रहेको छ । जोखिम मोल्दै सडकको चोक, विभिन्न गल्ली तथा सडक पेटिमा राखेर तरकारी बिक्रि गर्नुपर्ने बाध्यता रहेको घोराही उप–महानगरपालिकाका जगत विकले बताए ।

‘लमहीमा व्यवस्थित तरकारी बिक्रि केन्द्र नहुँदा सडकपेटीमा राखेर तरकारी बिक्रि गर्नुपर्ने बाध्यता परेको हो । दुर्घटनाको जोखिम मोल्दै सडकपेटीमा तरकारी राखेर बिक्रि गरिरहेका छौँ’ उनले भने, ‘लमहीमा व्यवस्थित तरकारी बिक्रि केन्द्र नहुँदा कतिपयले सडकपेटीमा त, कसैले साइकलमा डुलाएर तरकारी बिक्रि गर्छन् ।’

स्थानीय तहमा जनप्रतिनिधि आएको करिब ३ वर्ष बितिसक्दा पनि लमहीमा व्यवस्थित तरकारी बिक्रि केन्द्र स्थापना हुन सकेको छैन । जसले गर्दा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु सहज रूपमा बिक्रि गर्न पाएका छैनन् ।

‘तरकारी त उत्पादन गरिन्छ तर, व्यवस्थित तरकारी बिक्रि केन्द्र नहुँदा हामी किसान ठूलो चपेटामा परेका छौँ’ विकले भने, ‘स्थानीय सरकार किसान मैत्रीबन्न सकेन । न कृषि क्षेत्रमा लगानी गर्छ, नत किसानले उत्पादन गरेको तरकारी व्यवस्थित तरिकाले बजारीकरणमा सहयोग पु¥याउँछ । सडकपेटीमा राखेर तरकारी बिक्रि गर्दा कतिबेला गाडीले ठ्याम्म हान्ने हो थाहा छैन ।’

व्यवस्थित तरकारी बिक्रि केन्द्र नहुँदा पूर्वपश्चिम राजमार्ग छेवैमा रहेको दुर्गा मन्दिर अगाडि भुईमा राखेर तरकारी बिक्रि गर्नुपर्ने बाध्यता रहेको स्थानीय धनकुमारी चौधरी गुनासो गरिन् । ‘कोरोनाको कहरको बेला लमहीको सार्वजनिक बगैंचामा सा¥यो ।

त्यसबाट पनि लमही नगरपालिकाले हटायो । केन्द्र स्थापनाको लागि नगरपालिकामा डेलिगशन पनि गयौं तर, बिक्रि केन्द्र स्थापना गरेन’ चौधरीले भनिन् । नगरपालिकाले तरकारी बिक्री केन्द्र स्थापनाको लागि आश्वासन मात्रै देखाउने गरेको उनले बताइन् ।

जथाभावि रुपमा तरकारी बिक्रि गर्दा सिंगो लमही बजारको स्वभाव बिग्रिएको छ भने किसानहरुलाई समेत जोखिम छ । त्यसका क्षेत्रका किसानहरुले बजार क्षेत्रमा व्यवस्थित तरकारी बिक्रि केन्द्र नगरपालिकाले बनाइदिनुपर्ने माग राखेका छन् ।

बधशाला बनाउने बजेट फ्रिज

लमहीमा आधुनिक बधशाला निर्माणको लागि छुट्याइएको बजेट फ्रिज गएको छ । गत आर्थिक वर्षमा केन्द्रबाट विनियोजित चालिस लाख बजेट फ्रिज भएको हो । तराई मधेस कार्यक्रम अन्र्तरगत बधशाला निर्माणको लागि छुट्याइएको चालिस लाख रकम फ्रिज गएको थियो ।

‘लमही बजारलाई व्यवस्थापन गर्नको लागि केन्द्रले बजेट विनियोजित गरेर रकम पठाउँछ तर, लमही नगरपालिकाले उक्त बजेट फिर्ता पठाउँछ’ स्थानीय शेरसिंह खड्काले भने, ‘अन्य स्थानिय तहले आएको बजेटलाई सदुपयोग गर्छन् । लमहीले भने फिर्ता पठाउँछ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २७ गते शनिबार