एटीएमबाट पैसा चोरीको आरोपमा दुईजना भारतीय युवक बाँकेको नेपालगन्जबाट पक्राउ परेका छन् । भारत रुपैडिहाका मोविन अली र सलवान अली एटीएम चोरी गर्दागर्दै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोडेर भाग्न थालेका उनीहरु पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए ।
मंगलबार नै बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर अन्य आपराधिक घटनामा संलग्न भएकाहरुलाई पनि सार्वजनिक गरेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० मा गएराति १२ बजे मदनापुरमा एउटा विवाहमा नाचगान गर्ने क्रममा विवाद हुँदा रमेश बुढाथोकीलाई लाँठी, चिरपट लगायतले कुटपिट गरिएको थियो।
प्रहरीले कुटपिटमा संलग्न दिनेश पुरी, धर्म वली, सुरज कुँवर र उमेश घर्तिमगरलाई नियन्त्रणमा लिएको छ ।
यस्तै २०६६ कात्तिक २७ गते नरैनापुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेको आरोपमा हेमन्तकुमार शर्मालाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
यस्तै घोराहीका दत्तबहादुर नाथ भारतबाट फर्कँदै गर्दा नेपालगञ्जमा रिक्सामा छुटेको ७ लाख ४० हजार रुपैयाँसहितको झोला पनि फेला परेको बाँके प्रहरीले जानकारी दिएको थियो । सबै घटनामाथि आवश्यक छानविन भइरहेको बाँके प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्