शुभाकर विश्वकर्मा कोहलपुर ।
शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले देशको सीमा सुरक्षा र बलियो बनाउनको लागि परेको बताएका छन् । दुई ठूला मुलुकको बीचमा रहेको नेपालको सीमा रक्षाको लागि शसस्त्र प्रहरी रातदिन पहरेदारका रुपमा तैनाथ रहेको उनले बताए ।
बिहीबार ए.पि.एफ. स्कूल कोहलपुरको औपचारिक रुपमा उद्घाटन गर्दैै महानिरीक्षक खनालले सीमा सुरक्षाका साथै स्वास्थ्य र शिक्षा क्षेत्रको विकास पनि उच्च प्राथमिकतामा रहेको बताएका थिए । तीन प्रदेशलाई लक्षित गरी गुणस्तरीय शिक्षा आर्जन गर्नको लागि एक वर्ष अघिबाट शिक्षण सुरु गरेको विद्यालयको उनले एक समारोहका बीच औपचारिक रुपमा उद्घाटन समेत गरेका थिए ।
उक्त अवसरमा बोल्दै शसस्त्र प्रहरी महानिरीक्षक खनालले सीमा क्षेत्रको रक्षाको लागि ती क्षेत्रहरुमा बिओपी स्थापना गर्ने काम युद्धस्तरमा भइरहेको अवगत गराए । ‘हाम्रो मुख्य काम भनेको सीमाको रक्षा गर्ने हो । स्वास्थ्य क्षेत्रमा समेत हामीले काम गर्दै आएका छौ । शिक्षा क्षेत्र पनि प्राथमिकताको विषय हो ।’ उनले भने । शसस्त्र प्रहरीले देशभर सीमा सुरक्षाका साथै अस्पताल र विद्यालय समेत सञ्चालन गर्दै आएको छ । कोभिड–१९ महामारीको समयमा समेत शसस्त्र प्रहरीले सञ्चालन गर्दै आएको अस्पतालले संक्रमितको उपचारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको खनालको भनाइ थियो ।
उनका अनुसार शसस्त्र प्रहरी सीमा क्षेत्र बलियो बनाउन कुनै पनि मूल्य चुकाउन र राष्ट्रको रक्षा गर्न तत्पर छ । पछिल्ला केही महिनामा मात्रै चार दिशा तर्फका सीमा क्षेत्रमा १ सय ९३ वटा बिओपी निर्माण गरिएको उनले जानकारी दिए । यस्तै विद्यालय उद्घाटन समारोहमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले शसस्त्र प्रहरीले सीमा सुरक्षाका साथै शिक्षा क्षेत्रमा समेत उल्लेखनीय योगदान दिदै आएको बताए । उनका अनुसार तीन प्रदेश कार्यक्षेत्र रहेको ए.पि.एफ. स्कुलबाट गुणस्तरीय शिक्षाका साथै जनशक्ति उत्पादन गर्नको लागि विद्यालय सक्षम रहनेछ ।
नगर प्रमुख रावतले स्थानीय सरकारको तर्फबाट स्कूललाई आवश्यक पर्ने सबै कुरामा सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । नेपाल ए.पि.एफ.स्कूल कोहलपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसएसपी इन्द्रराज कार्कीले २०७६ सालमा तीन प्रदेशका विद्यार्थीहरुका लागि शसस्त्र प्रहरीको कल्याणकारी काम अनुसार सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालनमा ल्याएको बताए । यस विद्यालयमा शसस्त्र प्रहरीका कर्मचारीहरुका परिवारबाट ६० प्रतिशत र सर्वसाधारणका तर्फबाट ४० प्रतिशत विद्यार्थीहरुले अध्ययन गर्न पाउँछन् ।
विद्यालय सञ्चालन हुनु पूर्व त्यहाँ गण सञ्चालनमा थियो । तर मन्त्रीपरिषद्को २०७५ जेष्ठ २७ गते निर्णय अनुसार उक्त गण खारेज भइ शसस्त्र प्रहरी बल ५४ हेडक्वाटर कैलाली गुल्म सञ्चालनमा आएको थियो । पछि उक्त गुल्म पनि २०७६ मंसिर ३० गतेको निर्णय अनुसार खारेज भइ हाल उक्त स्थानमा नेपाल ए.पि.एफ.स्कूल कोहलपुर र मध्यपश्चिम क्षेत्रीय शसस्त्र प्रहरी नेपाल कोहलपुर अस्पताल सञ्चालनमा रहेको अध्यक्ष कार्की जानकारी दिए ।
उनका अनुसार गृह मन्त्रालयस्तरको २०७६ कात्तिक २६ गतेको निर्णय बमोजिम सहमति प्रदान भइ र कोहलपुर नगरपालिका नगरशिक्षा शाखाको २०७६ माघ ४ गतेको निर्णय अनुसार विद्यालय सञ्चालनको स्विकृति प्रदान भएको थियो । उक्त विद्यालयमा पठनपाठन २०७६ माघ १६ गतेबाट कोहलपुर २ मा सञ्चालन भइरहेको छ ।
जसको बिहीबार शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले औपचारिक रुपमा उद्घाटन गरे । सो अवसरमा उनले विद्यालयको भौतिक संरचनाहरुको समेत स्थलगत अनुगमन गरेका थिए । आवासीय रुपमा अध्ययन गर्ने सुविधा रहेको विद्यालयमा कक्षा पाँचसम्म पढाई हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्