प्रविधिको उपयोगबाट किशोरीहरु सशक्तिकरण हुँदै गएकोमा अभिभावकहरु खुसी भएका छन् ।
बर्दियाको बाँसगढी नगरपालिका–८ बर्दियास्थित त्रिभुवन सामुदायिक पुस्तकालयमा रिड नेपालद्धारा सुरु भएको ट्याग परियोजना अन्तर्गत किशोरी सशक्तिकरण कार्यक्रमले अभिभावकहरुसँग गरेको दोस्रो बैठकमा आफ्ना छोरीहरुमा आएको सकारात्मक परिवर्तनप्रति उनीहरु खुसी भएको बताएका थिए ।
५० जना किशोरीहरुलाई छनौट गरी उनीहरुलाई प्रविधिको उपयोगिता सिकाएर लैङ्गीक समावेशी र समानताबारे सचेतना फैलाउन प्रेरित गरिएको छ । तीमध्ये २७ जना अहिले यो अभियानमा क्रियाशील भएका छन् । ती किशोरीहरुमा आएको सकारात्मक परिवर्तन र उनीहरुले समाजमा पारेको प्रभावबारे बुधबार उनीहरुका अभिभावकसँग अन्तरक्रिया गरिएको थियो ।
परियोजनामा आबद्ध भएपछि छोरीमा नेतृत्व विकाससँगै नेतृत्व लिन सक्ने क्षमताको विकास भएको अभिभावक शिवरानी थारुले बताइन् । छोरीले प्रविधिको सीप समेत सिकेको दाबी गरिन् ।
त्यसैगरी अर्की अभिभावक सुशिला गुरुङ्गले परियोजनामा आवद्ध भएपछि छोरीमा सामुहिक नेतृत्व गर्ने सीपको विकास भएको बताइन् ।
पुस्तकालयका कोषाध्यक्ष यज्ञबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै परियोजना संयोजक पार्वती मल्लले किशोरीहरुको नेतृत्व विकासका लागि परियोजनाले विभिन्न बिषयवस्तुलाई केन्द्रमा राखेर काम गरिरहेको बताइन् ।
उनले पहिलेको तुलनामा किशोरीहरुमा व्यापक परिवर्तन आएको बताइन् । कोभिड– १९ का कारण बीचमा कार्यक्रम प्रभावित भएको भन्दै अब कार्यक्रमलाई नियमित पारिने उल्लेख गरिन् ।
परियोजनाले प्रविधिको उपोगबाट सचेतिकरणका विभिन्न कार्यक्रम गर्ने गरेको छ । अभिभावक बैठक बाँसगढी नगरपालिका–८ ककौरास्थित पुस्तकालयमा सम्पन्न भएको थियो ।










प्रतिक्रिया दिनुहोस्